व्यावसायीहरु कर पनि तिर्न नसक्ने अवस्थामा पुगेका हुन् ?
काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण व्यवसायीहरु कर समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।
आर्थिक संकटका कारण बजारमा वस्तुको मागमा गिरावट आएको छ । सोही कारण अहिले सबै प्रकारका व्यवसायमा घट्दै पनि भएको छ । फलस्वरुप व्यवसायीहरु कर समेत तिर्न नसक्ने अवस्थामा पुगेका हुन् । जसलाई आन्तरीक राजश्व विभागले हालै जारी गरेको एक सार्वजनिक सुचनाले पुष्टि गरेको छ ।
विभागले गत हप्ता एक सुचना जारी गर्दै व्यवसायीहरुलाई कर तथा गत आवको आय विवरण तिर्न आह्वान गरेको छ । यदि, तत्काल आय विवरण नबुझाएर कानुन अनुसार कारवाही गर्ने विभागको चेतावनी छ ।

करदाताहरुले आर्थिक वर्ष सकिएको तीन महिना भित्र र म्याद थप सहित ६ महिना भित्र (पुस मसान्त) भित्र आय विवरण बुझाउनुपर्ने हुन्छ । तर, यसपाली फागुन सकिन लाग्दा समेत थुप्रै व्यवसायीहरुले आव २०७८/७९ को आय विवरण आन्तरीक राजश्व विभागमा बुझाएका छैनन् । त्यसपछि व्यवसायीहरुलाई गत आवको आय विवरण र कर तिर्न आह्वान गरेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागले यो विवरण बुझाउने करदाता (व्यवसायी) को संख्यामा घटेको समेत आंशका गरिएको छ । यसपाली अघिल्लो आव २०७७/७८ को तुलनामा गत आव २०७८/७९ को आय विवरण बुझाउने करदाताको संख्यामा पनि कमी आएको विभागले आशंका गरेको छ । तर, यसको यकिन तथ्यांक भने आएको छैन । यसबारे अध्ययन भइरहेको विभागका एक उच्च अधिकारीले बताए ।
चालु आवमा आयकर लक्ष्यअनुसार असुली भएको छैन । पुस मसान्तसम्ममा १ खर्ब ५७ अर्ब २२ लाख १८ हजार रुपैयाँ बराबरको आयकर उठाउने लक्ष्य सरकारको थियो । तर, त्यस अवभिमा लक्ष्यको ७४.३० प्रतिशत अर्थात् १ खर्ब १६ अर्ब ७९ करोड रुपैयाँ बराबर मात्रै आयकर असुली भएको छ । यसरी आयकर घटेपछि विभागले आय विवरण तथा कर दाखिला गर्ने करदाता घटेको आशंका गरेको थियो । यसबारे प्रारम्भिक अध्ययन गर्दा केही करदाताहरुले आय विवरण तथा कर दाखिला नगरेको देखिएको बिभागको भनाइ छ ।
पछिल्लो समय देखिएको आर्थिक संकटका कारण यस्तो समस्या आएको हुन सक्ने विभागको अनुमान छ । पछिल्लो समय नेपाली अर्थतन्त्र अफ्ठ्यारो परिस्थीतिमा छ । तरलता अभाव, उच्च ब्याजदर, महंगी लगायतका कारण बजारमा वस्तुको माग घटेको छ । फलस्वरुप अधिकांश व्यवसायहरु प्रभावित भएका छन् । व्यवसायीहरुलाई बैंकहरुको ऋण तिर्न समेत धौधौं भएको छ । बजारमा नगद प्रवाह पनि घटेको बताइन्छ । यस्ता कारण आय विवरण तथा कर दाखिला गर्ने करदाताको संख्यामा कमी आएको हुन सक्ने विभागका एक उच्च अधिकारीले बताए ।
विभाग स्रोतले भन्यो,–‘सम्बन्धीत करदाताहरुले अझै पनि कारोबार गरी मुल्य अभिवृद्धि करको विवरण कर कार्यलयमा दाखिला गरिरहेका छन् । भन्सार तथ्याङ्क (आशिकुडा) अनुसार आयात निर्यात पनि गरेका छन् । समग्रमा करदाताहरुले गत आव र अहिले पनि कर लाग्ने कारोबार गरिरहेका छन् । तर हालसम्म आय विवरण र कर दाखिला गरेका छैनन् ।’
विवरण तथा कर दाखिला गर्ने मामलामा नेपाल उद्योग वाणिज्य महासंघ लगातका व्यवसायीक संगठनहरुलाई सहजीकरणको लागि अनुरोध गरेको विभागले जनाएको छ । स्रोतले भन्यो,–‘पछिल्लो समय देखिएको आर्थिक संकटका कारणले पनि यस्तो समस्या आयो कि भन्ने हाम्रो शंका छ । किनकी, आर्थिक संकटले व्यवसायहरु राम्रोसँग हुन सकेको छैन । कर वापतको रकमलाई पछि सहज अवस्थामा भुक्तानी गरौला भनेरपनि करदाताहरु बसेका हुन सक्छन् । तर, यसबारे अध्ययन भने भइसकेको छैन ।’













