तरलता अभाव र कित्ताकाटको समस्याले घट्यो घर जग्गा कारोबार, फागुनमा ४० हजार बढी किनबेच
काठमाडौं । एक महिनामा ४० हजार बढी घर जग्गा किनबेच भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनामा ४० हजार ७३४ वटा घर जग्गा किनबेच भएको हो ।
भुमि व्यवस्थापन तथा अभिलेख विभागका सार्वजनिक गरेको तथ्याङ्लके यस्तो देखाएको हो । तर, गत माघ महिनाको तुलनामा भने केही घटेको छ । माघ महिनामा ४१ हजार ८६ वटा घर जग्गा किनबेच भएको थियो ।
अनिवार्य वर्गीकरण र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा सोचे जस्तो प्रगति नभएको विभागले जनाएको छ । लगानीयोग्य रकम (तरलता) को अभाव र स्थानीय तहले जग्गाको वर्गीकरण नगरिदिँदा कारोबार घटेको बताइएको छ ।
सरकारले गत जेठ २३ मा भू–उपयोग नियमावली–२०७९ ले नियमावली अनुसार वर्गीकरण नभएका कारोबार गर्न नपाइने व्यवस्था जारी गरेको थियो । त्यसपछि नै व्यवसायमा कमी आउँन थालेको एक अधिकारीले बताए । उनले भने,–‘धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको छ । तरलता अभाव र ब्याजदर वृद्धि लगायतका समस्याले पनि कारोबारमा कमी आउन थालेको हो ।’
पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त मात्रामा कर्जा प्रवाह गर्न नसक्दा पनि घरजग्गा कारोबार प्रभावित भएको उनको भनाई छ । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण पनि घर जग्गा कारोबारमा सुधार आउन नसकेको बताइएको छ । ‘पछिल्लो समय नेपाली अर्थतन्त्रमा अप्ठ्यारो परिथितिमा छ । तरलता अभाव, उच्च ब्याजदर, महँगी लगायतले पनि यसको कारोबार बढ्न सकिरहेको छैन’– ति अधिकारीले भने ।
फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ४० हजार ७३४ घरजग्गा लिखत पारित भएको विभागले जनाएको छ ।
विभागका अनुसार ३ हजार ५३८ वटा घरजग्गा नामसारी, ४ हजार २३३ संशोधन, ३० हजार ८५० रोक्का, २२ हजार फुकुवा भएका छन् । सो महिनमा १ हजार ३ सय २७ वटा घरजग्गा दाखिला खारेज गरेका छन् ।
फागुन महिनामा मालपोत कार्यालय नेपालगञ्ज सबैभन्दा धेरै घर जग्गा किनबेच भएको छ । सो कार्यालय मार्फत फागुनमा १ हजार ६०९ वटा घरजग्गा किनबेच भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै, इनरुवा सुनसरीबाट १ हजार ५४७ वटा, जनकपुरधाम धनुषा कार्यालयबाट १ हजार ५३३ वटा, बेलबारी मोरङबाट १ जहार २७५ वटा, राजविराज सप्तरीबाट १ हजार १९२, भक्तपुरबाट १ हजार १ १३, कपिलवस्तुबाट १ हजार ८७, भद्रपुर झापाबाट १ हजार ७७ लगनखेलबाट १ हजार ३१ र विराटनगर मोरङबाट १ हजार २७ वटा घरजग्गा किनबेच भएको छ ।
फागुन महिनामा मालपोत कार्यालय, बलरा सर्लाही, धादिङ, मकवानपुर, मकवानपुरकै शिखरकोट, सिर्दिवास, चन्द्रौता कपिलवस्तु, रुपन्देही बुटवल कार्यालय मार्फत घर जग्गाको कारोबार नभएको विभागले जनाएको छ ।
कारोबार घटेसंगै राजश्व पनि प्रभावित
चालु आवको फागुनमा घर जग्गा कारोबारमा कमी आएसंगै राजश्व संकलन पनि प्रभावित बनेको छ ।
गत माघ महिनामा ३ अर्ब ७५ करोड ८ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, फागुनमा भने घटेर ३ अर्ब ५६ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
देशभरका मालपोत कार्यालयहरुबाट सेवा करबापत १९ करोड ९९ लाख रुपैयाँ, बागमतिबापत ८ करोड ५४ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै, पूँजीगत लाभकर बापत १ अर्ब ३ करोड १७ लाख रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत २ करोड ५५ लाख रुपैयाँलगायत अन्य विभिन्न सेवा दिए बापत राजस्व संकलन गरेको विभागले जनाएको छ । सो महिनामा २९ करोड २३ लाख रुपैयाँ राजस्व छुट दिएको छ ।
देशभरका मालपोत कार्यालयमध्ये लगनखेल मालपोत कार्यालय मार्फत सबैभन्दा धेरै राजश्व संकलन भएको छ । सो कार्यलय मार्फत ३२ करोड १५ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
दोस्रो स्थानमा रहेको भक्तपुर मालपोत कार्यालयबाट २२ करोड ९० लाख रुपैयाँ, राजश्व संकलन भएको विभागले जनाएको छ ।
यस्तै, कलंकीबाट १८ करोड ७६ लाख रुपैयाँ, चावहिलबाट १६ करोड ८८ लाख रुपैयाँ, डिल्लीबजारबाट १४ करोड ५२ लाख रुपैयाँ, कास्कीबाट १२ करोड ७५ लाख रुपैयाँ र चितवन मालपोतबाट ८ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
फागुन महिनामा २७ हजार ३१ वटा जग्गा वर्गीकरण भई ६० हजार ३६१ कित्ता कायम भएको छ । गत माघ महिनामा २४ हजार ५६९ जग्गा कित्ताकाट भई ५४ हजार ४७८ वटा कित्ता कायम भएको थियो ।













