दैनिक २ हजार ७३२ केजी काजु खान्छन् नेपाली, आठ महिनामा साढे ४३ करोड रुपैयाँको खाए
काठमाडौं । आठ महिनामा नेपालीहरुले साढे ४३ करोडको काजु खाएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
काजुमा प्रोटिन र पोटासियमको मात्रा बढी हुन्छ । काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढेर उच्च रक्तचाप र डायबिटिजलाई नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्ने भएकाले चिकित्सकहरुले नै यसको प्रयोग गर्न सुझाव दिने गरेका छन् ।
दैनिक दुई या तीन पिस काजु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हरेक बिहान काजु खाने गर्नाले शरीरमा कोलोस्ट्रलको मात्रा नियमित रहनुका साथै यसबाट पाइने कार्बोहाइड्रेडलगायत तत्वले हड्डी तथा दाँतलाई बलियो पनि बनाउँछ ।
काजुमा पाइने ‘भिटामिन बी’ को प्रचुरताले दिमागलाई स्वास्थ्य राख्नुका साथै तेज बनाउने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार काजुले आँखालाई स्वस्थ बनाउने र विशेषगरि गर्भवतीको लागि काजु निकै फाईदाजनक हुने बताउँछन् । ताजगी र स्वस्थ, स्फुर्तिका साथै यौन तथा प्रजनन क्षमता बढाउनको लागि पनि काजुको प्रयोग गरिने चिकित्सकहरुको भनाई छ । पछिल्लो समय नेपाली बजारमा यसको माग समेत उच्च छ । यसको बजार भाउ प्रतिकेजी १ हजार ५०० देखि २ हजार रुपैयाँ भन्दा धेरै रहेको छ ।
विभागको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा विश्वका आधा दर्जन मुलुकहरुबाट ४३ करोड ५४ लाख ३९ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको छ । सो अवधिमा ६ लाख ५५ हजार ८५८ केजी अर्थात ६५५ टन बढी काजु आयात भएको विभागले जनाएको छ ।
काजु आयात चालु आवको पहिलो महिना अर्थात साउनको तुलनामा भने यो २४३.८५ प्रतिशतले बढेको हो । गत साउनमा १२ करोड ६६ लाख ३५ हजार रुपैयाँ बराबरको १७६ टन बढी काजु नेपाल भित्रिएको थियो ।
चालु आवको फागुन मसान्तसम्ममा भारतबाट १२ करोड ७७ लाख ४८ हजार रुपैयाँ बराबरको १ लाख ७९ हजार ६५२ केजी काजु आयात भएको छ । यता, मोजाम्बिकबाट १२ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको १ लाख ६२ हजार ४४२ केजी, भेटनामबाट १० करोड ४६ लाख ४७ हजार रुपैयाँ बराबरको २ लाख २२ हजार १९४ केजी काजु आयात भएको विभागले जनाएको छ ।
यस्तै, नाईजेरियाबाट ७ करोड ४३ लाख ३६ हजार रुपैयाँ बराबरको ८७ हजार ३५२ केजी, चीनबाट ३९ लाख ९९ हजार रुपैयाँ बराबरको ४ हजार २ केजी, कतार ६ हजार, यूएईबाट ५ हजार रुपैयाँ बराबरको काजु आयात भएको थियो ।
विभागको तथ्याङक अनुसार नेपालीले औसतमा दैनिक २ हजार ७३२ केजी काजु खाने गरेका छन् । आयतको तथ्याङ्क मासिक ५ करोड ४४ लाख २९ हजार रुपैयाँ काजु नेपाल भित्रिएको छ ।
विभागका अनुसार गत भदौमा २० करोड ९६ लाख ६८ हजार रुपैयाँ बराबरको २ लाख ९५ हजार ७०३ केजी, असोजमा ३१ करोड १३ लाख ७२ हजार रुपैयाँ बराबरको ४ लाख ३७ हजार २३९ केजी, कात्तिकमा ३३ करोड ३१ लाख २९ हजार रुपैयाँ बराबरको ४ लाख ७१ हजार केजी काजु आयात भएको छ ।
त्यसैगरि गत मंसिर महिनसम्ममा ३७ करोड १२ लाख ६९ हजार रुपैयाँ, पुसम्ममा ३८ करोड ६५ लाख ४८ हजार र माघसम्ममा ४१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको काजु नेपाल आयात भएको थियो ।













