७ श्रावण २०८३, बिहिबार

वैशाख ५ र ६ गते पावर समिट: नेपाल र भारतबीच विद्युत खरिदको एमओयू हुने, ८०० जनाको सहभागिता हुने



काठमाडौं । आगामी बैशाख ५ र ६ गते हुने आठौं संस्करणको ‘पावर सुमिट २०२३’ को तयारी अन्तिम चरण पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आयोजनामा हुने ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो कार्यक्रम ‘पावर समिट २०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

बिहीबार इप्पानले राजधानीमा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको हो । आठौं संस्करणको पावर समिट नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय संरक्षक र लगानी बोर्ड, नेपाल सह–आयोजक रहेको छ ।

सो पावर समिटको उदघाट्न प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछ । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति रहने छ । नेपालको ऊर्जामन्त्री तथा इप्पानको तर्फबाट भारत, बंगलादेश, भुटान र श्रीलंकाका ऊर्जा मन्त्रीहरू समेत सहभागिता हुनेछ ।

नेपालको ऊर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुङ्गा सावित हुने पावर समिटमा दक्षिण एसियामा लगानी जुटाउने सम्बन्धी प्रतिवेदन साउथ एशियन फोरम अन इनर्जी इन्भेस्टमेन्ट (फेबाई) ले सार्वजनिक गर्ने इप्पानका अध्यक्ष कृष्या आचार्यले बताए ।

नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौताका लागि एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उनको भनाई छ । उनका अनुसार सम्मेलनले नवीकरणीय ऊर्जाको विकास र बजार विस्तारका लागि अन्य सम्झौता र समझदारीहरूमा हस्ताक्षर गरिने छ ।

काठमाडौंको हायात रिजेन्सी होटलमा हुने सो पावर समिटमा कुल ८ सय जनाको सहभागिता रहने छन् । जसमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित) नेपाल सरकारका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण, कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, बिक्रेताहरू थिंङ्क ट्याङ्कहरु र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू सहभागिता रहने आयोजकले जनाएको छ ।

भारतीय राजदुतावास कन्ट्री पार्टनरका रुपमा रहेको पावर समिटमा भारतीय प्रतिनिधिमण्डलको ठूलो सहभागिता रहने इप्पानले जनाएको । पावर सुमिटमाको मुख्य प्रायोजकहरूमा आईएफसी, विश्व बैंक, यूएसएआईडी जस्ता विकास साझेदारहरूका साथै पावर ट्रेडिङ कम्पनीहरू, ऊर्जा उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, थिंक ट्याङहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू रहेका छन् ।

विश्व बैंक समूहको आईएफसी रणनीतिक साझेदार, इन्डियन इनर्जी एक्सचेन्ज साझेदार, मणिकरण पावर लिमिटेड ट्रेडिङ पार्टनरका रूपमा रहेको बताइएको छ । नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, जलविद्युतको माग, प्रविधि र नवप्रवर्द्धन सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी विभिन्न १५ ओटा सत्रहरु संचालन गरिने अध्यक्ष आचार्यले बताए ।

सो सत्रमा पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरु (प्रोजेक्ट बैंक) प्रदर्शन गरिनेछ । लगानीकर्ताहरूलाई लगानीका लागि ऊर्जा परियोजनाहरू छलफल र बुझ्नको लागि एक अद्वितीय अवसर हुने आयोजको विश्वास छ ।

कार्यशालाहरू र साइडलाइन कार्यक्रमहरूमा ऊर्जा मन्त्रीको उपस्थितिमा सीईओ मञ्चको आयोजना गरिएको छ भने पूर्वऊर्जा मन्त्रीहरू र ऊर्जा विशेषज्ञहरू बीच राउन्ड टेबल छलफलहरू पनि आयोजना गरिने छ । इप्पानले सन् २००१ मा पहिलो पावर समिट आयोजना गरेपछि ऊर्जा क्षेत्रले लामो यात्रा तय गरेको छ । ‘नेपाल अब विद्युत उत्पादनमा आत्मनिर्भर हुने युगमा प्रवेश गरेको छ र ऊर्जा अधिशेष राष्ट्र बन्ने दिशामा अघि बढेको छ । देशको कुल राष्ट्रिय प्रशारण लाईनको जडित क्षमता करिब २ हजार ५५० मेगावाट पुगेको छ ।’ अध्यक्ष आचार्यले भने ।

इप्पानका अनुसार वर्ष अरु करिब ६०० मेगावाट प्रणालीमा थपिदै छ । सन २०२७ सम्ममा नेपालको कूल विद्युत उत्पादन क्षमता ६ हजार ७०० मेगाबाट पुन्याउने लक्ष्य छ । सुख्खा याममा हाल करिब ४५० मेगावाट विद्युत आयात गरिरहेको भएता पनि वर्षा याममा भने करिब १ हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा देश पुगेको छ ।

विद्युत उत्पादनमा भएको यो सफलतामा निजी क्षेत्रको योगदान करिब ६५ प्रतिशत पुगेको छ भने सन २०२७ सम्ममा ८० प्रतिशत पुग्ने छ । नेपालले सन २०४५ सम्ममा नेट शून्य देश बन्ने प्रतिबद्धता जनाएको छ । यो राष्ट्रिय लक्ष्य प्राप्तिका लागि पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्दै अर्थतन्त्रमा ठूलो हिस्सा हरित ऊर्जा उत्पादन र प्रयोग गर्न आवश्यक रहेको इप्पान जनाएको छ । जसलाई पावर समिट २०२३ ले ठूलो योगदान गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्