‘म सधैं कालो बादलभित्र चाँदीको घेरा देख्छु, आर्थिक संकट समाधानको रणनीति तयार गरौं’: बरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गरि लगानीको वातावरण बनाउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका ५७औं बार्षिक साधारण सभामा बोल्दै ढकालले राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गरी व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्नु पर्ने बताएका हुन् ।
उनले यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा र आर्थिक गतिविधिहरू शिथिल रहेको बताए । उनले भने, “आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी÷व्यवसायीहरू समस्यामा छौं विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन । हालै मात्र विश्व बैंक र एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर संशोधन गर्दै ४ दशमलव १ प्रतिशतमा सीमित रहने अनुमान प्रकाशन गरेका छन् ।”
अवस्था भयावह नहुँदै सबैले बेलैमा विचार पुन्याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो नहुने उनले बताए । उनले भने, “म सधैं कालो बादलभित्र चाँदीको घेरा देख्ने मान्छे हुँ । गरे असम्भव केही छैन भन्ने मलाई लाग्दछ । त्यसैले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव छ ।”
“सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा उनको तर्क थियो । नेपाल राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्नुपर्छ राज्यका सबै निकायले उद्योग व्यवसाय सञ्चालन गर्न वातावरण बनाउनु पर्छ व्यवसाय र व्यवसायीको सुरक्षा ग्यारेन्टी गरिदिनुपर्छ स्वदेशी र विदेशी लगानीको वातावरण सहज बनाउनुपर्छ ।” ढकालले भने ।
अहिले अर्थतन्त्रमा देखिएको संकटको उपचार तत्काल खोजौं समाधानको रणनीति बनाउन एउटा वृहत् राष्ट्रिय विमर्शको लागि प्रस्ताव गर्ने समेतको उनको माग थियो । उनले भने, ‘आर्थिक संकट समाधानको रोडम्याप दिनेछ । त्यसको आयोजना गर्न महासंघ तयार छ । विश्वका धनी वा सफल व्यक्तिहरूका कथामा हाम्रो समाज खुब रमाउँछ । उनीहरूका सफलतालाई हामी सगौरव प्रस्तुत पनि गर्छौं । तर ती जिवनी र सफलताका कथा पढ्नुलाई मैले यहाँ नराम्रो भन्न खोजेको होइन । किनभने हामीले पनि ती सफलताबाट प्रेरणा लिन सक्छौं । तर खोज्ने हो भने त्यस्ता सफलताका कथाहरू हाम्रा वरिपरि पनि कैयौं छन् । सानो व्यवसायबाट सुरू गरेर अबको लगानी, करोडौको राजश्व र हजारौको रोजगारी सृजना गर्न सक्ने व्यावसायिक र कर्मशील हातहरू हामीसँगै छन् । तर, यहाँ मैले हाम्रा आफ्नै मौलिक सफलताहरूमा मुलुकको समृद्धि देख्ने मानसिकता राज्यको किन बन्न सकेन भन्ने चासो मात्र राख्न खोजेको हो । नजिकको तीर्थ हेला भने जस्तै हाम्रै देशका उद्यमी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन अझै सकेका छैन । उनीहरूका उद्यमशीलतामा हामीले आवश्यक हौसला थप्न सकेका छैनौं । त्यसो त हामी उद्यमीमाथि देश र नागरिकले हेर्ने दृष्टिकोण पनि सकारात्मक बन्न सकिरहेको छैन ।”
अबको तीन वर्षमा नेपाल विकासशील मुलुकमा ग्रयाजुएट हुँदैछ यसबाट फाइदा लिन निजी क्षेत्रको नेतृत्वमा उद्योग व्यवसायको आधुनिकीकरण र क्षमता विकास रणनीति बनाउन आवश्यक रहेको उनको भनाइ रहेको थियो । दिगो विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका बढाउदै लगानी प्रवर्द्धनका थप काम गर्न महासंघ सरकारसँग सहकार्य गर्न तयार बताए ।
उनले भने, “मुलुकको आर्थिक विकास र समृद्धिको प्रमुख सम्वाहक निजी क्षेत्र हो भन्ने तथ्यलाई आज यहाँ दोहोर्याउनु पर्छ जस्तो मलाई लाग्दैन । निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनबाट मात्र मुलुकले अपेक्षा गरे अनुरूप आर्थिक विकास र समुन्नति हासिल गर्न सम्भव हुने तथ्य पनि हाम्रै सामुन्नेमा छ । छिमेकी मुलुक भारत र चीनपट्टि फर्किएर हेरौ न यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिको आधा हिस्सा नै भारत र चीनको हुनेछ यस्तो विश्वव्यापी संकटमा पनि भारतले ६ प्रतिशत भन्दा बढिको वृद्धिदर हासिल गरिरहेको छ । यो विश्वव्यापी औषत वृद्धिभन्दा धेरै बढी हो यो हुनुको पछाडि निजी क्षेत्रको ठूलो योगदान छ । सरकार र निजी क्षेत्रबीचको हातेमालोले मात्र यो सम्भव भएको हो भन्ने तथ्य हामीले पनि बुझनुपर्दछ ।”













