उत्पादनमा आधारित रहेर अनुदान दिन सरकार तयार, ब्याजदर कम गर्न राष्ट्र बैंकसँग छलफलमा छौंः प्रधानमन्त्री प्रचण्ड - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

उत्पादनमा आधारित रहेर अनुदान दिन सरकार तयार, ब्याजदर कम गर्न राष्ट्र बैंकसँग छलफलमा छौंः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उत्पादनमा आधारित रहेर अनुदान दिन सरकार तयार रहेको बताएछन् । वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा बोल्दै अर्थतन्त्र कठिन अवस्थामा रहेको भएपनि डराइ हाल्नु पर्ने नरहेको बताएका हुन् ।

उनले सरकारले अर्थतन्त्र सुधार गर्न सम्पूर्ण तागत लगाएको बताएका छन् । देशको अर्थतन्त्रमा सुधार भएको र राजस्व डेढ अर्ब, रेमिटेन्स १ खर्ब संकलन भैरहेको उनको तर्क छ । निजी क्षेत्रको प्रोटोकलको समस्या समाधान गर्न तयार रहेको भन्दै अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रमा प्रोटोकल कायम गर्ने बताए ।

बैंकको ब्याजदर घटाउन सरकारले काम गरिरहेको छ र राज्य निजी क्षेत्रसँग सहकार्य गर्न तल्लीन रहेको बताए । निजि क्षेत्रको समस्या समाधान गरेर मात्र अर्थतन्त्रको समस्याको समाधान हुने बताउदैं ब्याजदर कम गर्ने सरकार राष्ट्र बैंकसँग छलफल गरि रहेको छन् ।

साथै, उनले बाह्य कारणबाट अर्थतन्त्रको आन्तरिक अवस्था केही समस्या परेको बताए । उनले भने, अब हामी सहज अवस्थातर्फ जाँदै छौं, ‘बैंकको ब्याजदर घटाएर लगानीको मनोबल बढाउन, पूँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेका छन् ।’

प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिदैन । यो कुरामा सरकार स्पष्ट छ । के कस्तो सुधार गर्नु पर्छ त्यसको लागि सरकार तयार छ ।’ उनले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउनुहुँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताएका हुन् ।

“नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित छौं । यसका लागि सरकार र निजी क्षेत्र दुबैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ । सरकारको प्रयासबाट सामाजिक–आर्थिक क्षेत्र केही प्रगति हासिल भएका छन् । बहुआयामिक गरिवी १७।४ प्रतिशतमा झरेको छ । शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ । आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ । समग्र स्वास्थ्य सुविधाहरुमा जनताको पहुँचमा वृद्धि भएको छ । लैंगिक सशक्तिकरणमा उल्लेख्य सुधार भएको छ । आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसंख्याको पहुँच पुगेको छ । विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजनक छ । सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ, विप्रेषणमा सुधार आएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, अर्थतन्त्र विघटनको दिशातिर जान्छ कि भन्नेखाले आशंका निवारण भएको छ । समग्रमा हेर्दा हामी संकटबाट सुधारको बाटो हिँड्दैछौँ भन्ने प्रष्ट चित्र देखिएको छ । यो हाम्रा लागि खुसीको कुरा हो ।” प्रधानमन्त्री प्रचण्डले भने ।


प्रतिक्रिया दिनुहोस्