३० श्रावण २०८३, शनिबार

राष्ट्र बैंक स्वायक्त संस्था हो, राजनीतिक नजरले नहेरौं : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंक महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई राजनीतिसंग जोडेर नहेर्न अनुरोध गरेका छन् ।

मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको सम्वन्धमा राष्ट्र बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंक स्वायक्त संस्था भएकाले यसले गर्ने हरेक काम कारवाहीलाई राजनीतिसंग जोड्न नहुने बताए । उनले भने,– ‘व्यवसायिक इन्ट्रेस्टहरु हुन् सक्छन् । राष्ट्र बैंक एउटा प्रोफोसनल संस्था हो । यसले गर्ने काम कारवाहीलाई राजनीतिसंग जोडिनु हुँदैन ।’

सोही अवसरमा गर्भनर अधिकारीले नेपाली बैंकहरु सुरक्षित रहेको बताए । पछिल्लो समय वित्तीय सूचकहरुमा सुधार आएकाले डराउनुपर्ने अवस्था नरहेको गभर्नर अधिकारीको भनाई थियो । गभर्नर अधिकारीले भने,–‘गत आर्थिक वर्षमा भन्दा यस आवमा बैंकहरुको खराब कर्जा बढेपनि आत्ति हाल्नुपर्ने अवस्था छैन । नेपालका बैंकहरु सुरक्षित छन् ।’

यद्यपि, अघिल्लो वर्षहरुमा भन्दा यस वर्ष बैंकहरुको खराब कर्जा बढी देखिएको उनको भनाई छ । वित्तीय तथ्याङ्कहरु बलिया भएकाले सानोतिनो धक्काले जोखिम आउने अवस्था नरहेको उनको भनाई छ ।