वैदेशिक लगानी प्रतिवद्धतामा झण्डै २० प्रतिशतको गिरावट, नौ महिनामा २८ अर्ब मात्रै प्रतिवद्धता - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

वैदेशिक लगानी प्रतिवद्धतामा झण्डै २० प्रतिशतको गिरावट, नौ महिनामा २८ अर्ब मात्रै प्रतिवद्धता



काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिवद्धता घट्दै गएको छ । चालु आवको ९ महिनामा आएको वैदेशिक लगानी प्रतिवद्धता भने १९.४५ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म नेपालमा ३४ अर्ब ९२ करोड ८६ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । तर, चालु आर्थिक वर्ष २०७९ को समिक्षा अवधीमा भने ६ अर्ब ७९ करोड ६८ लाख रुपैयाँले घटेको छ । चालु आवको चैत मसान्तसम्ममा भने २८ अर्ब १३ करोड १८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । चैत महिनामा मात्रै ७ अर्ब ५५ करोड १८ लाख रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रतिवद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ । सुरुदेखि चैत मसान्तसम्ममा भने प्रतिवद्धता रकम ४ खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

कोरोना कालमा घटेको वैदेशिक लगानी प्रतिवद्धता गत आवमा बढ्न थालेको थियो । तर, चालु आवमा भने त्यो फेरी घटेको छ ।
नेपालमा आव २०७६.७७ सम्म वैदेशिक लगानी प्रतिवद्धता बढ्दो क्रममै थियो । तर, कोरोना महामारीका कारण आव २०७७/७८ मा भने वैदेशिक लगानी प्रविद्धतामा कमी आएको थियो । त्यसपछि गत आव २०७८/७९ मा बैदेशिक लगानी प्रतिवद्धता पुनः बढ्न थालेको थियो । तर, चालु आवमा भने सुरुदेखि नै वैदेशिक लगानी प्रतिवद्धता घट्दै गएको बिभागको तथ्यांकले पुष्टी गरेको छ ।

विभागका अनुसार आव २०७६/७७ नेपालमा ३७ अर्ब ८० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । त्यसपछि आव २०७७/७८ मा भने त्यो १५ प्रतिशतले घटेर ३२ अर्ब ७ करोड रुपैयाँमा सिमित भएको थियो । त्यसपछि आव २०७८/७९ मा वैदेशिक लगानी प्रतिवद्धता ६९ प्रतिशतले बढेर ५४ अर्ब १५ करोड रुपैयाँ पुगेको थियो । तर, चालु आवमा भने वैदेशिक लगानी प्रतिवद्धता घट्दै गएको विभागको तथ्यांमा उल्लेख छ ।

बिशेषगरि विश्व आर्थिक मन्दीका कारण बैदेशिक लगानी प्रतिवद्धता घटेको बताइएको छ । कोरोना महामारी, रुस–युक्रेन युद्द, विश्वव्यापी महंगी लगायतका कारण पछिल्लो समय विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । सोही कारण नेपालमा बैदेशिक लगानी प्रतिवद्धता घटेको अर्थविद् बताउछन् । पछिल्लो समय नेपालमा पनि महंगी तथा व्याजदर बढेको छ ।

नेपालको सप्लाई चेन्ज सिस्टमा पनि समस्या आएको छ । यो अवस्थामा नेपालमा लगानी गर्दा बढी प्रतिफल आउने सम्भावना न्यून छ । किनकी, महंगी तथा बढी व्याजदरका कारण लागत बढी लाग्छ । तर, त्योअनुसार प्रतिफल आउने सम्भावना भने हुदैन । यी यस्ता कारण नेपालमा बैदेशिक लगानी घटेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्