८ श्रावण २०८३, शुक्रबार

पहिलो दिन मै साढे २ लाखले भरे ईङवा हाइड्रोपावरको आइपीओ



काठमाडौं । ईङवा हाइड्रोपावरको आइपीओ २८ करोड २१ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ। सीडीएसका अनुसार पहिलो दिन (वैशाख १३ गते) साँझ ५ः३ बजेसम्म २ लाख ५३ हजार १५ जना आवेदकले २८ लाख २१ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा २.२२ गुणा बढी आवेदन हो ।

कम्पनीले आगामी आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँट समेत गरिसकेको छ ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। तर, आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी सेयर निष्काशन गरेको हो ।

अब कम्पनीले कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको छ ।

सो सेयरमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । यस्तै, २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ छिटोमा बैशाख १७ गतेसम्म बिक्रीमा रहने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा भने आगामी बैशाख २७ गतेसम्म दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्