१० श्रावण २०८३, आइतबार

सन्दर्भ: श्रमिक दिवस, आधा भन्दा बढी श्रमिकको छैन बीमा

सन्दर्भ: श्रमिक दिवस, आधा भन्दा बढी श्रमिकको छैन बीमा



काठमाडौं । सामान्यतया श्रमिकहरुलाई बीमाको आवश्यकता बढी हुन्छ । काम गर्ने मामलामा उनीहरुलाई विभिन्न जोखिम हुन्छ । सोहीअनुसार उनीहरुलाई बीमाको बढी आवश्यकता छ । तर, उनीहरुनै बीमाको दायरामा नभएको देखिएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । अधिकांश रोजगारदाता कम्पनीले श्रमिकको बीमा गराएका छैनन् ।

श्रम ऐनअनुसार रोजगारदाताले प्रत्येक श्रमिकको बार्षिक १ लाख रुपैयाँ औषधी उपचार बीमा र ७ लाखको दुर्घटना बीमा गर्नुपर्ने हुन्छ । तर, यो व्यवस्थअनुसार आधा भन्दा बढी रोजगारदाताले श्रमिकको बीमा गरेका छैनन् ।

नेपालमा सञ्चालित ४४.७५ प्रतिशत कम्पनीले श्रमिकको औषधी उपचार बीमा गराएका छन् । यस्तै, ४०.४५ प्रतिशत कम्पनीले श्रमिकको दुर्घटना बीमा गराएका छन् । त्यस बाहेक अन्य। कम्पनीले श्रमिकको बीमा गराएका छैनन् । अहिले ३८.९८ प्रतिशत श्रमिकलाई सबै प्रकारको दुर्घटनामा समेट्ने गरी बीमा गरिएको प्रतिवेदनमा उल्लेख छ । औषधी उपचार बीमा नगरेको अवस्थामा पनि औषधि उपचार खर्च व्यहोर्ने र दुर्घटना बीमा गर्ने प्रतिष्ठान पहिले भन्दा केही वृद्धि भएको बताइएको छ ।

यद्यपि, प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको कारणले श्रमिक कुनै प्रकारको समस्यामा पर्दा पाउने सुविधाबाट वञ्चित हुने सम्भावना कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।