बैंकको ब्याजदर घट्दो क्रममा छ, फेरि थप घट्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन्।
सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमि ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए। अहिले त्यसमा क्रमशः सुधार आउँदैछ। बैंकको ब्याजदर केही घटेको छ। यो महिनाभित्र थप केही घट्छ।’’
‘‘अघिल्लोपटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै थियो। तर, निकै ठूलो दुख र मेहेनतपछि त्यसमा राम्रो सुधार आयो। ७।५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरियो। राजनीति र अर्थतन्त्र दुवैमा राम्रो प्रगति भयो। त्यसपछि नेपाली कांग्रेसका सभापति देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गरिदिएँ। अहिले पनि म त्यस्तै परिस्थितिमा प्रधानमन्त्री भएको छु। यतिबेला मैले अघिल्लो कार्यकाल सम्झिरहेको छु।’’
सरकारको नीति, कार्यक्रम र बजेटलाई त्यतातर्फ केन्द्रित गर्न खोजेका बताएका छन् । प्रधानमन्त्रीले भने, ‘‘अर्थतन्त्र लयमा फर्किन थालेको छ। यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु। अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरू गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ।’’













