राष्ट्रिय लेखा तथ्याङ्क : नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब, आर्थिक वृद्धिदर १.८६ प्रतिशत
काठमाडौं । राष्ट्रिय तथ्याङ्क विभागले आर्थिक वर्ष २०८९/८० को वार्षिक राष्ट्रि लेखा तथ्याङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्क अनुसार चालु आवमा उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने देखाएको छ । यसका साथै नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्बको हुने देखिएको विभागले जनाएको छ । विभागका अनुसार कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभुत मूल्यमा भने २.१६ प्रतिशत हुने अनुमान गरिएको छ ।
चालु मूल्य अनुसार कुल उत्पादन आधारभुत मूल्यमा भने ८० खर्ब ९० लाख ६७ करोड, कुल मध्यवती उपभोग उपभोत्ताको मूल्यमा ३३ खर्ब ९४ अर्ब १७ करोड हुने अनुमान रहेको छ ।
यस्तै, कुल स्थिर पुँजी निर्माण १३ खर्ब ५६ अर्ब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत), चालु मूल्यमा अन्तिम उपभोग खर्च ५० खर्ब ३६ अर्ब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ प्रतिशत), वस्तु तथा सेवा निर्यात ३ खर्ब ८५ अर्ब (७.१७ प्रतिशत), वस्तु तथा सेवा आयात १९ खर्ब ६४ अर्ब ( ३६.५ प्रतिशत) हुने अनुमान गरेको छ ।
त्यसैगरि राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६, विप्रेषण १२ खर्ब ३१ अर्ब (२२.८९) र प्रतिव्यक्ति आय १ लाख ८२ हजार ६८३ अर्थात १ हजार३९९ यूएस डलर हुने अनुमान गरेको हो ।
प्राथमिकताको क्षेत्रबाट जीडीपीमा २४ प्रतिशत योगदान
जीडीमा सबैभन्दा प्राथमिकताको क्षेत्रबाट २४ प्रतिशत योगदान हुने देखिएको छ । प्राथमिकताको क्षेत्र अन्तर्गत कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्रहरु पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्ष २०७९/८०मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धि दर स्थिर मूल्यमा २.६९% वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।
चालु आर्थिक वर्षमा धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि भएता पनि हिउदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा भएको सामान्य ह्रासले गर्दा यस क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसकेको विभागले जनाएको छ ।
द्धितिय क्षेत्रको १२.९ प्रतिशत योगदान
जीडीपीमा द्धितिय क्षेत्रको योगदान १२.९ प्रतिशतले हुने अनुमान रहेको छ । यस क्षेत्र अन्तर्गत उद्योग, विद्युत, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुन उत्पादनका क्रियाकलापहरू र निर्माण क्षेत्र पर्दछन् ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १२.९ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८०मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ०५६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको बताइएको छ ।
खासगरी उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारणले गर्दा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा गत आ.व. को तुलनामा कमि आएको छ ।
सेवा क्षेत्रको योगदान ६२ प्रतिशत
जीडीपीमा सेवा क्षेत्रको योगदान ६२ प्रतिशत हुने अनुमान गरिएको छ । यस क्षेत्र अन्तर्गत थोक तथा खुद्रा व्यापार अवास तथा भोजन सेवा यातायात तथा भण्डारण, सूचना तथा सञ्चार वित्तीय तथा बीमा क्षेत्र, घरजग्गा कारोवार पेशागत तथा प्रशासिनक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्दछन् ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ६२.४ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २.३३ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।
आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरुमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धि दर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा गत आवको तुलनामा कमि आएको हो ।













