लगानी गर्ने होइन त ? थ्रीस्टार हाईड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन हो भने स्थानिय बासिन्दाले जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख ११ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत सेयर विक्री गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा विक्री हुने १५ प्रतिशत सेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । आयोजना प्रभावित स्थानीयमा जारी हुने सेयर खरीदका लागि खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्मका वासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी हुने आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७३ हजार ८७५ कित्ता आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।













