बागमतीकै आर्थिक वृद्धिदर न्युन, गण्डकीको सबैभन्दा धेरै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बागमतीकै आर्थिक वृद्धिदर न्युन, गण्डकीको सबैभन्दा धेरै



काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० मा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम हुने अनुमान गरिएको छ ।

अघिल्ला बर्षहरुमा बागमती प्रदेशको आर्थिक वृद्धिदर पहिलो तथा दोस्रो नम्बरमा हुन्थ्यो । तर, चालु आवमा यस प्रदेशको आर्थिक बृद्धिदर अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हुने देखिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जीडीपी) लेखा अनुमानले यस्तो देखाएको हो । बिभागकाअनुसार चालु आवमा बागमती प्रदेशको आर्थिक बृद्धिदर १.४ प्रतिशत हुने अनुमान गरिएको छ, जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा कम हो । बागमतीमा आव २०७७/७८ मा ५.१ प्रतिशत र २०७८/७९ मा ६.३ प्रतिशतको आर्थिक बृद्धिदर थियो । तर, यसपाली बागमती प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा कम हुने देखिएको तथ्यांक कार्यालयले जनाएको छ ।

बिशेषगरि यो बर्ष खुद्रा व्यापार क्षेत्र बढी प्रभावित छ । बागमती प्रदेशमा खुद्रा व्यापारको हिस्सा सबैभन्दा बढी अर्थात् २३.६ प्रतिशत छ । यसरी बढी हिस्सा भएको क्षेत्र प्रभावित भएपछि बागमतीमा आर्थिक बृद्धदिर कम हुने देखिएको भण्डारीको भनाइ छ । चालु आवको पहिलो ९ महिनाको यकिन तथ्यांक र बाँकी ३ महिनाको अनुमानित तथ्यांकको आधारमा यस्तो अनुमान गरिएको कार्यालयको भनाइ छ ।

उपभोक्ता मुल्यमा चालु आवमा समग्र नेपालको आर्थिक बृद्धिदर १.८६ प्रतिशत हुने अनुमान छ । त्यसमा गण्डकी प्रदेशको आर्थिक बृद्धिदर सबैभन्दा बढी अर्थात् ३.३ प्रतिशत हुने अनुमान गरिएको छ । गत आवमा गण्डकी प्रदेशको आर्थिक बृद्धिदर ६.३५ प्रतिशत थियो, जुन अन्यको तुलनामा बढी थियो । यसपाली पनि गण्डकीको आर्थिक बृद्धिदर सबैभन्दा बढी हुने अनुमान गरिएको हो ।

आर्थिक बृद्धिदर बढी हुनेमा लुम्बिनी प्रदेश दोस्रो नम्बरमा छ । त्यहाँको आर्थिक बृद्धिदर २.१ प्रतिशत हुने अनुमान गरिएको छ । तेस्रोमा स्थानमा भने कोशी प्रदेश रहेको छ । त्यसको आर्थिक बृद्धिदर २ प्रतिशत हुने अनुमान छ ।

यस्तै, कर्णाली प्रदेशको १.९ प्रतिशत, सुदुर पश्चिमको १.८ प्रतिशत, मधेशको १.७ प्रतिशतले आर्थिक बृद्धिदर हुने अनुमान गरिएको छ ।

यस्तै, जीडीपी बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो बर्ष यस प्रदेशको हिस्सा ३७ प्रतिशत हुने अनुमान तथ्यांक कार्यालयले गरेको छ । दोस्रो स्थानमा भने कोशी प्रदेश रहेको छ । योे बर्ष जीडीपीमा कोशी प्रदेशको हिस्सा १६ प्रतिशत हुने अनुमान गरिएको छ । तेस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशको हिस्सा भने १४ प्रतिशत हुने अनुमान गरिएको छ ।

यसैगरि जीडीपीमा मधेश प्रदेशको १३ प्रतिशत, गण्डकीको ९ प्रतिशत, सुदुर पश्चिमको ७ प्रतिशत र कर्णालीको ४ प्रतिशत हिस्सा हुने अनुमान गरिएको छ । कार्यालयका अनुसार बागमतीको जीडीपीको आकार १९ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । यसैगरि कर्णाली प्रदेशको जीडीपीको आकार २ खर्ब २१ अर्ब रुपैयाँ पुग्ने अनुमान छ।

अहिले नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव छैन । तर, विश्वका अन्य देशहरुमा भएका घटनाले विश्वव्यापी रुपमा आपुर्ति श्रृंखला खलवलीएको छ । साथै, पेट्रोलिय पदार्थको मुल्य पनि बढ्को छ । त्यसले नेपाली अर्थतन्त्र प्रभावित भएको कार्यालयको भनाइ छ । सोहीअनुसार यो बर्ष आर्थिक बृद्धिदर खुम्चिएको बताइएको छ ।

कार्यालयकाअनुसार यो बर्ष बागमती बाहेक सबै प्रदेशहरुमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ । बागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको कार्यालयको भनाइ छ । बागमती प्रदेशमा बढ्दो शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठुला व्यापारीक कारोबार यस्तो अवस्था रहेको कार्यालयको भनाइ छ ।

कुन प्रदेश कस्तो ?

कोशी प्रदेश: चालु आवमा कोशी प्रदेशको जीडीपीको आकार करिव ८ खर्व ४९ अर्ब रुपैयाँ हुने अनुमान छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्याउने अनुमान छ । चालु आवमा यहाँको बृद्धिदर २ प्रतिशत मात्र कायम रहने अनुमान छ । यहाँको जीडीपीमा कृषि क्षेत्रको सबैभन्दा बढि ३३.२ प्रतिशत योगदान हुने बताइएको छ ।

मधेश प्रदेश: चालु आवमा मधेश प्रदेशको जीडीपीको आकार करिव ७ खर्व ७ अर्व हुने अनुमान छ । यस प्रदेशले कुल जीडीपीमा १३.१ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ । यसै गरी आर्थिक बृद्धिदर आई १.६९ प्रतिशत हुने अनुमान छ । यस प्रदेशको जीडीपीमा कृषि क्षेत्रको सबै भन्दा बढी ३५.२ प्रतिशत योगदान हुने अनुमान छ ।

बागमती प्रदेश: चालु आवमा बागमती प्रदेशको जीडीपीको आकार करिव १९ खर्व ८१ अर्व रुपैयाँ हुने अनुमान गरिएको छ । यसले राष्ट्रिय जीडीपीमा ३६.८६ प्रतिशत योगदान दिने अनुमान छ । साथै, यस प्रदेशको आर्थिक बृद्धदिर १.४ प्रतिशत कायम हुने अनुमान गरिएको छ । यस प्रदेशको जीडीपीमा व्यापार क्षेत्रको योगदान २३.६ प्रतिशत हुने अनुमान छ ।

गण्डकी प्रदेश: चालु आवमा गण्डकी प्रदेशको जीडीपीको आकार करिव ४ खर्व ८ अ हुने अनुमान छ । चालु आवमा यस प्रदेशले राष्ट्रिय जीडीपीमा ९ प्रतिशत योगदान पुर्याउने अनुमान छ । यहाँको आर्थिक बृद्धिदर ३.२६ प्रतिशत हुने अनुमान गरिएको छ । यहाँ कृषि क्षेत्रको योगदान सबैभन्दा बढी अर्थात् २५.९ प्रतिशत हुने अनुमान गरिएको छ ।

लुम्बिनी प्रदेश: चालु आवमा लुम्बिनी प्रदेशको जीडीपीको आकार करिव ७ खर्व ६२ अर्व रुपैयाँ अनुमान छ । यस प्रदेशले राष्ट्रिय जीडीपीमा १४.२ प्रतिशत योगदान पुर्याउने अनुमान छ । आर्थिक बृद्धिदर भने २.०६ प्रतिशत मात्र कायम रहने अनुमान छ । जीडीपीमा कृषि क्षेत्रले सबैभन्दा बढि २९.८ प्रतिशत योगदान दिने अनुमान गरिएको छ ।

कर्णाली प्रदेश: चालु आवमा यस प्रदेशको जीडीपीको आकार करिव २ खर्व २१ अर्व हुने अनुमान छ । राष्ट्रिय जीडीमा यसको योगदान ४.१ प्रतिशत मात्रै हुने बताइएको छ । यसैगरि यस प्रदेशको आर्थिक बृद्धिदर १.९१ प्रतिशत हुने अनुमान गरिएको छ । यस प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी अर्थात् ३०.८ प्रतिशत हुने अनुमान छ ।

सुदुरपश्चिम प्रदेश: चालु आवमा यस प्रदेशको जीडीपीको आकार करिव ३ खर्व ७६ अर्व हुने अनुमान छ । यसले राष्ट्रिय जिडीपीमा ७.०५ योगदान पुर्याउने अनुमान छ । यहाँको आर्थिक बृद्धिदर १.७८ प्रतिशत हुने अनुमान छ । यहाँको जीडीपीमा कृषि क्षेत्रको योगदान ३३.४ प्रतिशत पुग्ने अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्