८ श्रावण २०८३, शुक्रबार

प्रिमियममा आइपीओ निकाल्दैं दुई कम्पनी, प्रतिकित्ता कतिमा खरिद गर्ने ?



काठमाडौं । थप दुई कम्पनीको आइपीओ आउने मिति तय भएको छ । घोराही सिमेन्ट इण्डष्ट्री र आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने लागेका हुन् ।

घोराही सिमेन्ट इण्डष्ट्री
कम्पनीले आगामी जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँट पनि गरिसेको छ । त्यसमध्ये बाँकी भएको सबै सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सो आइपीओमा छिटोमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधिमा आवेदन नपरेको खण्डमा भने असार १४ गतेसम्म लम्बिनेछ ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

आइएमई लाइफ

कम्पनीले आइपिओ अङ्कित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सर्वसाधारणलाई सेयर जारी गर्न लागेको हो । आगामी असार १ गतेबाट आइएमई लाइफले जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो । कम्पनीले मङ्गलवार नेपाल धितो पत्र बोर्डबाट प्रिमियम मूल्यमा आइपिओ निष्कासनका लागि अनुमति पाएको हो ।

आइएमई लाइफले नेपाली बीमा क्षेत्रको पहिलो प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने कम्पनी बनेको छ । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित आइपिओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने भएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्