बैंकमा लगानीयोग्य पुँजी बढ्दै: सुस्ताएको घर जग्गा कारोबारमा देखियो चमक, जेठमा यो वर्षकै उच्च किनबेच
काठमाडौं । घर जग्गा कारोबारमा बढेको छ । पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रमा लगानीयोग्य पुँजी वृद्धिले पनि घरजग्गा कारोबार बढ्न थालेको हो ।
कित्ताकाटको कार्य अगाडि बढेसँगै र बैंकहरुमा लगानीयोग्य पुँजी वृद्धिले घरजग्गा कारोबार बढ्न थालेको हो । भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशन गरेको तथ्याङ्कले पनि घर जग्गा कारोबारले गति लिएको पुष्टि गरेको छ ।
चालु आर्थिक वर्षको बैशाख महिनामा ४२ हजार ४६१ वटा घर जग्गा कारोबार भएको थियो । जेठमा भने २९.६९ प्रतिशत अर्थात थप १२ हजार ६०८ वटा घर जग्गा खरिदबिक्री भएको हो । विभागको तथ्याङ्क अनुसार जेठ महिनामा ५५ हजार ६९ वटा घर जग्गा किनबेच भएको छ । जुन यसवर्षकै उच्च कारोबार हो । यसअघिका महिनाहरुमा घर जग्गा कारोबार संख्या ५० हजार भन्दा तल नै थियो ।
यसअघि अनिवार्य वर्गीकरणको नीति र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा सोचे जस्तो प्रगति हुन सकिरहेको थिएन् । लगानीयोग्य रकम (तरलता) को अभाव र स्थानीय तहले जग्गाको वर्गीकरण नगरिदिँदा कारोबार घटेको थियो । तर, पछिल्लो समय स्थानीय निकायहरुले कित्ताकाटको कार्य अघि बढाएसंगै कारोबारमा बढोत्तरी देखिएको हो । सरकारले गत वर्षको जेठ २३ गते भू–उपयोग नियमावली–२०७९ ले अनुसार वर्गीकरण नभएका घर जग्गाको कारोबार गर्न नपाइने व्यवस्था जारी गरेको थियो । त्यसपछि धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको थियो ।
तरलता अभाव र ब्याजदर वृद्धि लगायतका समस्याले पनि कारोबारमा गति लिन सकिरहेको अवस्था थिएन । तर, पछिल्लो पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप बढ्दो क्रममा छ, ब्याजदर पनि घट्को छ। जसले घर जग्गा कारोबार बढ्न टेवा पुगेको घर एक जग्गा व्यवसायीले बताए । उनले भने,–‘बजारमा लगानीयोग्य रकम बढेको छ । जसले घरजग्गा कारोबार पनि वृद्धि भएको हो । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिन थालेपछि घर जग्गामा पनि लगानी बढ्न थालेको छ, जसले घरजग्गाको कारोबार बढ्दै गएको हो ।’
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप पनि ह्वात्तै बढेको छ । गत बुधवारसम्मको राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुमा मात्रै ४८ खर्बै ९४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । पछिल्लो समय बैंकहरुले ब्याजदर पनि घटाउँदै गएका छन् । निक्षेप बढ्दै जानु र ब्याजदर गर्दै जाँदा घर जग्गा कारोबार अझै गति लिने बताईन्छ ।
जेठ महिनामा ४ हजार ७१९ वटा घरजग्गा नामसारी भएका छन् । ७ हजार ५१८ वटा संशोधन, ४० हजार ५४९ वटा रोक्का र ३० हजार ८०९ वटा फुकुवा भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गत बैशाख महिनामा भने ३ हजार ३७८ वटा घरजग्गा नामसारी, ५ हजार १२० वटा घर जग्गा संशोधन, ३० हजार ५७२ वटा रोक्का र २३ हजार ६४२ वटा फुकुवा भएका थिए ।
वैशाखमा ३० वटा अपार्टमेन्ट बिक्री भएकोमा जेठ महिनामा भने जेठमा २९ वटा अपर्टामेन्ट बिक्री भएको विभागले जनाएको छ ।
विभागका अनुसार जेठ महिनामा सबैभन्दा धेरै घर जग्गा मालमोत कार्यालय इनरुवाबाट भएको छ । सो कार्यालय मार्फत जेठमा २ हजार ४६० वटा घरजग्गा किनबेच भएको छ ।यसअघि अर्थात गत बैशाखमा भने सो कार्यालय मार्फत १ हजार ६५६ वटा घरजग्गा किनबेच भएको थियो।
धेरै कारोबार हुनेको दोस्रो स्थानमा भने मालपोत कार्यालय बेलबारी, मोरङ देखिएको छ । सो कार्यालय मार्फत जेठ महिनामा २ हजार ८९ वटा घर जग्गा किनबेच भएको छ । तेस्रो स्थानमा रहेको नेपालगञ्ज बाँकेबाट १ हजार ९७० वटा घर जग्गा खरिदबिक्री भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, मालपोत कार्यालय जनकपुरधाम धनुषाबाट १ हजार ८७४, पर्साबाट १ हजार ५४० वटा र तौलिहवा मालपोत कार्यालयबाट १ हजार ४१९ वटा घरजग्गा किनबेच भएको छ ।
काठमाडौं उपत्यमाा पनि बढ्दै घर जग्गा किनबेच
काठमाडौं उपत्यकामा पनि घर जग्गा कारोबार बढेको छ । जग्गाको सहज कित्ताकाट हुन थालेपछि कारारोबार बढेको हो । गत वैशाखमा उपत्यकामा ३ हजार ६८३ वटा घरजग्गा किनबेच भएको थियो ।
उपत्यकाको भक्तपुरमा सबैभन्दा बढी घरजग्गा भएको विभागको तथ्याङ्कमा उल्लेख छ । जेठमा भक्तपुर मालपोत कार्यालयबाट जेठमा १ हजार ११९ घर जग्गा किनबेच भएको छ ।
दोस्रो स्थानमा ललितपुर लगनखेल मालपोत कार्यालय छ । सो कार्यालयबाट जेठमा १ हजार ५९ वटा घर जग्गा कारोबार भएको हो । यस्तै, कलंकीबाट ७५८ वटा, साँखुबाट ५७६ वटा, चावहिलबाट ४७९ वटा, मनमैजुबाट ३०६ वटा, डिल्लीबजारबाट २३५ वटा, टोखा कार्यालयबाट १७३ वटा र गोटीखेल ललितपुर मालपोत कार्यालयबाट ३० वटा घरजग्गा किनबेच भएको छ ।
राजश्व पनि बढ्दै
घर जग्गा कारोबार बढेसंगै राजश्व पनि वृद्धि भएको छ । जेठ महिनामा घर जग्गा कारोबाट ३ अर्ब ७५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत बैशाख महिनाको तुलनामा ६ करोड ९९ लाख रुपैयाँले बढी हो । गत वैशाखमा ४२ हजार घरजग्गा किनबेच हुँदा ३ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागका अनुसार सेवा करबाट २८ करोड रुपैयाँ, बागमति वापत ९ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ४२ करोड २६ लाख रुपैयाँ र पुँजीगत लाभकरवापत १ अर्ब २८ करोड ८ लाख रुपैयाँ राजस्व सरकारले प्राप्त गरेको छ । विभागका अनुसार जेठ महिनमामा ३६ करोड ९८ लाख रुपैयाँ छुट दिएको जनाएको छ ।













