कहाँ हरायो सेयर कारोबारबाट सरकारले पाउने ७ अर्ब ७८ करोड बढी कर ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कहाँ हरायो सेयर कारोबारबाट सरकारले पाउने ७ अर्ब ७८ करोड बढी कर ?



काठमाडौं । सेयर बजारमा आएको गिरावटसंगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा पनि कमी आएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा धितोपत्र पुँजीगत लाभकर बापत सरकारलाई प्राप्त हुने राजश्व ७७.०३ प्रतिशतले गिरावट आएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)बाट प्राप्त गत चालु आवको ११ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । सीडीएससीले सेयर कारोबारबाट सरकारलाई जाने राजश्वको एकीकृत तथ्यांक राख्ने गर्दछ ।

तथ्याङ्क अनुसार गत आवको जेठ मसान्तसम्ममा सरकारले सेयर बजारबाट १० अर्ब १० करोड ८० लाख ८८ हजार रुपैयाँ पुँजीगत लाभकर पाएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा आईपुग्दा भने यस्तो कर ७ अर्ब ७८ करोड ६५ लाख ४९ हजार रुपैयाँले घटेको छ । सीडीएसीका अनुसार चालु आवको जेठ मसान्तसम्ममा सेयर बजारबाट सरकारले २ अर्ब ३२ करोड १५ लाख ३९ हजार रुपैयाँ मात्रै प्राप्त गरेको हो ।

बिशेषगरि नेप्से परिसुचक घट्दा यसबापत सरकारलाई जाने राजश्व पनि कमी देखिएको हो । लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाएपछि नै सरकारलाई कर तिर्ने हो । गत वर्ष नेप्से परिसुचक बढ्दो क्रममा थियो । फलस्वरुप सेयर कारोबार गर्ने अधिकांश लगानीकर्ताले नाफा कमाए, सोहीअनुसार गत आवमा यसबापत सरकारलाई जाने कर पनि बढी थियो ।

तर, यस बर्षको समिक्षा अवधीमा नेप्से परिसुचक अर्थात् सेयर बजारमा उच्च मात्रामा गिरावट आएको छ । कहिलेकाँही सेयर बजारमा अस्थिरता पनि देखिएको छ । फलस्वरुप अधिकांश लगानीकर्ताले सेयर कारोबारमा घाटा बेहोर्नु परेको छ । त्यसपछि यसबापत सरकारलाई प्राप्त हुने राजश्व पनि घटेको लगानीकर्ताहरु बताउछन् ।

सीडीएसीका अनुसार चालु आवको ११ महिनामा व्यक्तिगततर्फ दीर्घकालीन लगानी गर्ने लगानीकर्ताले ८४ करोड ३८ लाख ९४ हजार १३३ रुपैयाँ पुँजीगत लाभकर सरकारलाई तिरेका छन् भने अल्पकालीन लगानीकर्ताले १ अर्ब २८ करोड ११ लाख ३६ हजार २९२ रुपैयाँ कर तिरेका छन् बुझाएको तथ्याङ्कमा उल्लेख छ । सेयर बजारमा दीर्घकालीनभन्दा अल्पकालिन लगानीकर्ता बढेको तथ्याङ्कले देखाउँछ । सेयर किनेको एक बर्षपछि बिक्री गरिन्छ भने, त्यो दिर्घकालिन सेयर कारोबारमा गणना हुने गर्दछ । त्यस्तो कारोबारबाट हुने नाफामा ५ प्रतिशत कर लाग्छ । यस्तै, सेयर किनेको १ बर्ष भित्र नै बिक्री गरिन्छ भने, त्यो अल्पकालिन सेयर कारोबारमा पर्छ । त्यस्तो कारोबारबाट हुने नाफाम ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने गर्छ ।

सीडीएसीका तथ्याङ्क अनुसार चालु आवको जेठ महिनामा सरकारले संस्थागत तर्फबाट प्राप्त हुने पुँजीगत लाभकर भने १९ करोड ६५ लाख रुपैयाँ रहेको छ । चालु आवको जेठ महिनामा मात्रै सरकारले सेयर बजार मार्फत २५ करोड ९५ लाख रुपैयाँ बढी पुँजीगत लाभकर प्राप्तगरेको छ । योमध्ये दीर्घकालीन लगानीकर्ताले ९ करोड २ लाख ८३ हजार रुपैयाँ बुझाएका छन भने अल्पकालीनतर्फ १२ करोड ८५ लाख ८ हजार रुपैयाँ रहेको छ । यस्तै, संस्थागततर्फ ४ करोड ७ लाख ३१ हजार रुपैयाँ कर सरकरालाई बुझाएको तथ्याङ्कमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्