अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा पहिलो दिन मै साढे २ लाखले दिए आवेदन
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा २७ करोड ८७ लाख ६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार १० गते) पहिलो दिन साँझ ५ः५ बजेसम्म २ लाख ५१ हजार ७९९ जना आवेदकले २७ लाख ८७ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले आज (असार १० गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । यस मध्ये १० प्रतिशत (६५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । साथै, ५ प्रतिशत (३२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (१३ हजार कित्ता) कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओमा छिटोमा असार १३ गते र सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।













