अन्तिम महिनामा झन् बढ्दैछ सरकारको घाटा: साढे तीन खर्ब नाघ्यो, पुँजीगत खर्च आधा पनि भएन
काठमाडौं । सरकारको बजेट घाटा साढे तीन खर्ब बढी छ । चालु आर्थिक वर्षको अन्तिम महिनामा सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट घाटा ह्वात्तै बढेको हो ।
महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त चालु आवको असार १९ गतेसम्मको तथ्याङ्कअनुसार बजेट घाटा ३ खर्ब ६४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । विशेषगरि पछिल्लो समय आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन प्रभावित भएको छ । यसरी लक्ष्यअनुसार आम्दानी नहुदाँ बजेट घाटामा गएको जानकारहरु बताउछन् ।
समिक्षा अवधीमा सरकारले राजश्व, अनुदान, ऋण लगायतका माध्यमबाट ९ खर्ब ११ अर्ब ३० करोड ३० लाख रुपैयाँ रुपैयाँ आम्दानी गरेको छ । तर, खर्च भने १२ खर्ब ७५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेट घाटा उच्च मात्रामा भएको देखिन्छ ।
सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्नै सकेको छ । सरकारले यो बर्ष १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, असार १९ गतेसम्म आईपुग्दा भने ७ खर्ब ८८ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ मात्रै राजश्व उठाएको छ । जुन, लक्ष्यभन्दा ३९.१३ प्रतिशतले कमी हो । करिव १२ महिना बितिसक्दा पनि लक्ष्यको ६०.८७ प्रतिशत मात्रै राजश्व संकलन भएको छ।
यस्तै, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । यसरी लक्ष्यअनुसार आम्दानी नहुदाँ बजेट घाटामा गएको सरकारी अधिकारीहरु बताउछन् । समिक्षा अवधिसम्ममा गैर कर आम्दानी ८० अर्ब ३ करोड ४४ लाख रुपैयाँ उठाएको छ । जुन, लक्ष्यको ७४.२६ प्रतिशत मात्रै हो । यस्तै, अनुदान मार्फत ४ अर्ब ८० करोड २० लाख रुपैयाँ र विविध शिर्षकमा ३८ अर्ब रुपैयाँ आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ ।
गत भदौसम्म सरकारको बजेट २८ अर्ब ६८ करोड ५४ लाख रुपैयाँले नाफामा थियो । त्यस अवधीमा सरकारले १ खर्ब ६३ अर्ब २ करोड रुपैयाँ आम्दानी गर्दा खर्च भने १ खर्ब ३४ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । तर, असोज मसान्तसम्म आउँदा भने बजेट ४६ अर्ब ३ करोड ९७ लाख रुपैयाँले घाटामा गएको देखिन्छ । त्यो अवधीमा २ खर्ब ३२ अर्ब १२ करोड रुपैयाँ आम्दानी हुदाँ सरकारको खर्च भने २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि भने बजेट घाटा निरन्तर बढ्दै गएको पनि महालेखाको तथ्यांकले देखाउछ ।
तथ्यांकअनुसार पुस मसान्तसम्म आउँदा बजेट घाटा बढेर ८१ अर्ब ५० करोड १८ लाख रुपैयाँ पुगेको थियो । पुस मसान्तसम्ममा सरकारको आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ थियो । तर, खर्च भने ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ भएको तथ्यांकमा उल्लेख छ ।
यसैगरि माघ मसान्तसम्म सरकारको बजेट घाटा बढेर १ खर्ब माथि पुगेको थियो । त्यसबेला बजेट घाटा १ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ पुगेको तथ्यांकमा देखिन्छ । माघ मसान्तसम्म सरकारको आम्दानी ५ खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ हुदाँ खर्च भने ६ खर्ब ६७ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको थियो ।
यस्तै, फागुन मसान्तसम्म आउँदा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ माथि पुगेको थियो । सरकारले गत माघ १७ गते बिभिन्न शिर्षकको खर्च कटौती गर्ने नीति लागू गरेको थियो । तर, त्यसपछि सरकारको बजेट घाटा झन् बढ्दै गएको तथ्यांकले पुष्टी गरेको छ ।
चैत महिनामा १ खर्ब ५८ अर्ब ८० करोड रुपैयाँ बजेट घाटामा थियो । बैशाखमा २ खर्ब १६ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ र जेठमा बढेर २ खर्ब ५४ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ पुगेको थियो । तथ्याङ्क अनुसार सरकारको कुल खर्च १२ खर्ब ७५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। चालु खर्च भने लक्ष्यको ७९.९२ प्रतिशत मात्रै भएको देखिएको छ । समिक्षा अवधिमा सरकारको चालु खर्च ९ खर्ब ४५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएको थियो ।
यस्तै, पुँजीगत खर्च आधा पनि हुन सकेन । असार १९ गतेसम्म आइपुग्दा सरकारको पुँजीगत खर्च ५४.५९ प्रतिशत कम भएको छ । समिक्षा अवधिमा सरकारको पुँजीगत खर्च १ खर्ब ७२ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । तर, सरकारले भने यो वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो ।
त्यसैगरि सरकारको वित्तीय खर्च १ खर्ब ५७ अर्ब ४३ करोड मात्रै भएको छ । जुन लक्ष्य भन्दा ३१.६१ प्रतिशतले कम हो । यो वर्ष सरकारको वित्तीय खर्च २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ गर्ने लक्ष्य लिएको थियो ।













