४ खर्ब नाघ्यो सरकारको बजेट घाटा, पुँजीगत भन्दा वित्तीय खर्च बढी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

४ खर्ब नाघ्यो सरकारको बजेट घाटा, पुँजीगत भन्दा वित्तीय खर्च बढी



काठमाडौं । सरकारको बजेट घाटा ४ खर्ब नाघेको छ । अन्तिम महिनाको अन्तिम समयमा सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट घाटा झन् चुलिएको हो ।

हाल सरकारको बजेट घाटा ४ खर्ब ९ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को असार २३ गतेसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा सरकारले राजश्व, अनुदान, ऋण लगायतको माध्यबाट ९ खर्ब २३ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । सरकारले चालु आवमा १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६३.३२ प्रतिशत मात्रै आम्दानी गरेको छ । सरकारको आम्दानी भन्दा खर्च धेरै नै छ । चालु आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । तर, चालु आव वितिसक्न लाग्दा पनि ७४.३१ प्रतिशत मात्रै खर्च भएको छ ।

समिक्षा अवधिमा सरकारको खर्च १३ खर्ब ३३ अर्ब ७ करोड ४२ लाख रुपैयाँ मात्रै भएको छ । यसरी सरकारको बजेट घाटा उच्च मात्रामा छ । विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण राजश्व संकलनमा संकुचन आएको छ । आर्थिक संकटका कारण आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन नमज्जाले प्रभावित भएको छ । आर्थिक संकटका कारण आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन नमज्जाले प्रभावित भएको छ । यस्तै, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । यसरी लक्ष्यअनुसार आम्दानी नहुदाँ बजेट घाटामा गएको बताइन्छ ।

सरकारले यो बर्ष १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, असार २३ गतेसम्म आईपुग्दा भने ७ खर्ब ९९ अर्ब २६ करोड ७८ लाख रुपैयाँ मात्रै राजश्व उठाएको छ । जुन, लक्ष्यभन्दा ३८.३ प्रतिशतले कमी हो । करिव १२ महिना बितिसक्दा पनि लक्ष्यको ६१.७ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।

यस्तै, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । समिक्षा अवधिसम्ममा गैर कर आम्दानी ८१ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ उठाएको छ । जुन, लक्ष्यको ७५.५ प्रतिशत मात्रै हो । यस्तै, अनुदान मार्फत ४ अर्ब ८० करोड २० लाख रुपैयाँ र विविध शिर्षकमा ३८ अर्ब ११ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ ।

पुँजीगत भन्दा वित्तीय खर्च बढी

समिक्षा अवधिमा सरकारको चालु खर्च ८३.११ प्रतिशत पुगेको छ । चालु आवका लागि सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएको थियो । चालु आवको अन्तिम महिना सकिनै लाग्दा सरकारको यस्तो खर्च भने ९ खर्ब ८३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

तथ्याङ्क अनुसार सकारको पुँजीगत खर्चभन्दा वित्तीय खर्च बढी देखिएको छ । सरकारले चालु आवको लिएको लक्ष्य अनुसार वित्तीय खर्च बढी छ । समिक्षा अवधिमा सरकारको पुँजीगत खर्च ४९.९६ प्रतिशत मात्रै छ । असार २३ गतेसम्म १ खर्ब ९० अर्ब ४ करोड ५९ लाख रुपैयाँ मात्रे पुँजीगत खर्च भएको छ । तर, चालु आवमा सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो ।

यस्तै, सरकारको वित्तीय खर्च भने ६९.३५ प्रतिशत पुगेको छ । चालु आवमा २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ वित्तीय खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, १२ महिनामा सकिन लाग्दा यस्तो खर्च १ खर्ब ५९ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ मात्रै भएको छ ।


प्रतिक्रिया दिनुहोस्