छुट्नु होला है ? आइएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अर्थात असार २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरी सकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।
सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।













