२२.७ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब बढी भित्रीयो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२२.७ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब बढी भित्रीयो



काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह वृद्धि भएको छ । ११ महिनामा रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्र्एिको हो । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो ।

समिक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भएको छ । योसंगै जेठ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ४ लाख ५९ हजार ४१५ जनाले श्रम स्वीकृत लिएका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्