बाह्य क्षेत्रमा निरन्तर सुधार: रेमिटयान्सले बढायो विनिमय सञ्चिति, थप मजबुत बन्दै सोधानान्तर स्थिति - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बाह्य क्षेत्रमा निरन्तर सुधार: रेमिटयान्सले बढायो विनिमय सञ्चिति, थप मजबुत बन्दै सोधानान्तर स्थिति



काठमाडौं । अर्थतन्त्रका बाह्य क्षेत्रमा निरन्तर सुधार देखिएको छ । पछिल्लो समयमा विदेशी विनिमय सञ्चिति, सोधानान्तर स्थिति बचतमा र रेमिट्यान्स लगायतका सूचकहरुमा सकरात्मक सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स ) २२.७ प्रतिशतले वृद्धि भएको छ । ११ महिनामा कुल ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने रेमिट्यान्स ४.१ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।

समिक्षाअ वधमिा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भने यस्तो आप्रवाह १.८ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोडले बचतमा रहेको छ ।

यस्तै, कुल विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । जेठ मसान्तसम्ममा यस्तो सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । जुन गत २०७९ असार मसान्तको तुलनामा २१.८ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको असार मसान्तसम्ममा विदेशी सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो । तर, गत जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ ।

यस्तै, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ११ महिनामा २५.१ प्रतिशतले वृद्धि भएको छ । जेठ मसान्तसम्म आईपुग्दा यस्तो सञ्चिति १३ खर्ब २१ अर्ब करोड रुपैयाँ पुगेको छ । तर, गत वर्षको असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । तर, गत जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमश: २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

समिक्षा अवधिमा आयात १६ प्रतिशत र निर्यात २२.७ प्रतिशतले घटेको छ । सो अवधिमा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको ११ महिनामा १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँको निर्यात भएको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमश: १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७९/८० को एघार महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश: १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।


प्रतिक्रिया दिनुहोस्