राष्ट्र बैंकको स्वायत्ततामा अर्थमन्त्रीको धज्जी, मौद्रिक नीति खुकुलो बनाउन निरन्तर दबाब
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुकुलो बनाउन राष्ट्र बैंकलाई निरन्तर दबाब दिदैं आइरहेका छन् ।
मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले आयोजना गरेको नेपालमा वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक सम्बाद कार्यक्रम पनि अर्थमन्त्री महतले मौद्रिक नीति खुकुलो बनाउन भनेका छन् ।
उनले अर्थतन्त्रका इन्डिगेटर सहज अबस्थामा देखाएकाले मौद्रिक नीति खुकुलो हुने बताए । उनले भने,–’ आगामी मौद्रिक नीति खुकुलो बनाउन विभिन्न इन्डिगेटरले देखाएको छ । अब सोही बमोजिम नै नीति आउछ।’
नेपालको वित्तीय क्षेत्रलाई नमुनाको रूपमा संचालन गर्नुपर्ने उनको भनाइ थियो । बजेटले उल्लेख गरेका सबै कुरा कार्यान्वयन हुने महतले बताए । ‘बैंकर्स र उद्योग एउटै व्यक्ति हुने नेपालको वास्तविकता हो । सामान्यतः संसारमा यस्तो हुँदैन । आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति हामीकहाँ छ’ मन्त्री महतले भने, ‘आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गरेर मध्यम र साना लगानीकर्तामा पूँजी प्रवाह गर्नेछन् भन्ने मलाई लागेको छ ।’ बैंकिङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गरेन, अनुत्पादक क्षेत्रमा धेरै लगानी भयो भन्ने परिपेक्ष्यमा वित्तीय क्षेत्र र राष्ट्र बैंकले त्यसतर्फ पनि ध्यान दिनेछ भन्ने विश्वास लिएको मन्त्री डा. महतले बताए ।













