आइएमई लाइफको आइपीओ कतिले पाउछन् ?
काठमाडौं । आइएमई लाइफको आइपीओ साढे ९ लाख भन्दा बढीले पाउने भएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट गर्दा ९ लाख ६० हजारले १०।१० कित्ताका दरले आइपीओ पाउनेछन् ।
कम्पनीको आइपीओमा अन्तिम दिन अर्थात असार २५ गतेसम्म १२ लाख ९० हजार ७४१ जना आवेदकले १ करोड ५७ लाख ८७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरी सकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।
जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।
कम्पनीको आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।













