अन्तिम समयमा सरकारको बजेट घाटा ४ खर्ब ३३ अर्ब नाघ्यो, चेक काटिएको बाहेक आज नयाँ भुक्तानी नहुने
काठमाडौं । आज चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन अर्थात असार मसान्त छ । आज सरकारको कुनै पनि नयाँ भुक्तानी हुने छैन । सरकारले आइतबार नयाँ चेक जारी गर्न नपाउने भएको हो । यद्यपि, पहिलेको मितिमा चेक काट्ने र काटिएको चेकको भुक्तानी भने हुनेछ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीअनुसार आर्थिक वर्षको अन्तिम दिन कुनै पनि नयाँ भुक्तानी नहुने व्यवस्था छ ।
चालु आर्थिक वर्षको अन्तिम समयमा सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट घाटा ४ खर्ब बढी पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार हाल सरकारको बजेट घाटा ४ खर्ब ३३ अर्ब २९ करोड ७१ लाख रुपैयाँ पुगेको हो । यो असार ३० गतेसम्मको तथ्याङ्क हो ।
तथ्याङ्कअनुसार सरकारले चालु आवको अन्तिम समयसम्म आईपुग्दा बजेट घाटा निकै चुलिएको छ । समिक्षा अवधिमा सरकारको आम्दानी ९ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ मात्रै छ । तर, खर्च १४ खर्ब २८ अर्ब बढी छ । सरकारले १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । जुन चालु आवको खर्च गर्ने लक्ष्यको ७९.६६ प्रतिशत हो । चालु आवभर सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । तर, सरकारको आम्दानी भने लक्ष्यअनुसार देखिएको छैन । समिक्षा अवधिमा सरकारले लक्ष्यको ६८.२६ प्रतिशत मात्रै आम्दानी गरेको छ ।
विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण राजश्व संकलनमा संकुचन आएको छ । आर्थिक संकटका कारण आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन प्रभावित भएको छ । आर्थिक संकटका कारण आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन नमज्जाले प्रभावित भएको छ । यस्तै, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । यसरी लक्ष्यअनुसार आम्दानी नहुदाँ बजेट घाटामा गएको बताइन्छ ।
सरकारले यो वर्ष १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, आलु आवको अन्तिम समयमा आईपुग्दा भने ८ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँ मात्रै राजश्व उठाएको छ । जुन लक्ष्य भन्दा ३४.७९ प्रतिशतले कमी हो । यस्तै, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्य अनुसार हुन सकेको छैन । समिक्षा अवधिमा सरकारको गैर कर आम्दानी ९० अर्ब ७७ करोड, अनुदान मार्फत ७ अर्ब ४२ करोड र विविध शीर्षकमा ५२ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ।
यस्तै, सरकारको पुँजीगत खर्च ६१.१७ प्रतिशत कायम भएको छ । तथ्याङ्क अनुसार सरकारको पुँजीगत खर्च २ खर्ब ३२ अर्ब ६८ करोड रुपैयाँ देखिएको छ। जुन लक्ष्य भन्दा ३८.८३ प्रतिशतले कमी हो । चालु आवभर सरकारले कुल ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । सो अवधिमा सरकारको चालु आव ८५.०९ प्रतिशत पुगेको छ । चालु आवमा सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्च गर्ने लक्ष्य लिएको थियो । तर, अन्तिम समयसम्म आईपुग्दा भने यस्तो खर्च १० खर्ब ६ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ ।
सरकारको वित्तीय खर्च भने ८२.२८ प्रतिशत भएको छ । चालु आवको अन्तिम समयसम्म सरकारको वित्तीय खर्च १ खर्ब ८९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । चालु आवभर भने सरकारले कुल २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ खर्चिने लक्ष्य लिएको थियो ।













