मजदुर परिचालन गर्न नसक्दा अर्बौं रकम बाहिरिँदै, ११ महिनामा विदेशीले नेपालबाट लगे ६ अर्ब बढी रेमिट्यान्स - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मजदुर परिचालन गर्न नसक्दा अर्बौं रकम बाहिरिँदै, ११ महिनामा विदेशीले नेपालबाट लगे ६ अर्ब बढी रेमिट्यान्स



काठमाडौं । नेपालबाट ६ अर्ब बढी रेमिट्यान्स बाहिरिएको छ । ११ महिनामै ६ अर्ब ६ करोड ८० लाख रुपैयाँ बढी रेमिट्यान्स नेपालबाट बाहिरिएको हो ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार ११ महिनामा ४ करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स नेपालबाट बाहिरिएको हो । ११ महिनामा विदेशी कामदारले नेपालबाट रेमिट्यान्स लगेका हुन् । जुन नेपालमा काम गर्न आउने विदेशी कामदारले औपचारिक माध्यमबाट मात्रै लगेको रकम हो ।

मुख्य रुपमा नेपालबाट भारतमा ठूलो परिमाणमा रेमिट्यान्स पुग्छ । त्यसबाहेकका अन्य मुलुकले पनि नेपालबाट रेमिट्यान्स लैजान्छन् । नेपालमा आएर थुप्रै भारतीयहरु नागरिकहरु आएर अनौपचारिक रुपमा काम गर्छन् । भारतीय नागरिकहरुले नेपालमा चटपट बिक्री, फलफुल बिक्री गर्ने, सडक तथा निर्माणजन्य कामहरु गर्दछन् । उनीहरुले आफुले कमाएको पैसा अनौपचारिक रुपमै लैजान्छन्, यद्यपि, यसको हिसाव छैन । नेपालमा आएर औपचारिक रुपमा काम गर्ने भारतीय, चाइनीज लगायतका देशका नागरिकले रेमिट्यान्स लैजाने गरेका छन् ।

नेपालमा कबाडी संकलन र व्यापार, कपाल काट्ने व्यवसाय, पलम्बिङ, इलेक्ट्रेसियन, घर निर्माणलगायत क्षेत्रका भारतीय कामदारले अनौपचारिक रूपमा रकम पठाएका छन् । नेपालका मल्टीनेशलन कम्पनीहरु, विदेशी लगानीका आयोजनाहरु, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनीहरुमा विदेशी कर्मचारीहरु छन् ।

नेपालका जलविद्युत आयोजनाहरुमा चिनियाँ कामदार छन् । डावर नेपाल, युनिलिभर जस्ता मल्टीनेशन कम्पनीमा विदेशी कर्मचारी छन् । उनीहरुले यहाँ कमाएको पैसा रेमिट्यान्स मार्फत आफ्नो देश पठाउछन्, जसरी नेपालीले बाहिर गएर नेपालमा रेमिट्यान्स पठाउछन् । नेपाली उद्योग क्षेत्रमा पनि भारतीय कामदारहरूको उत्तिकै बाहुल्यता छ । इँटा, जुट, धागो, सिमेन्टलगायतका कारखानमा पनि धेरै भारतीय श्रमिकहरू कार्यरत छन् । गत आवको जेठ मसान्तसम्ममा पनि नेपालबाट कुल ७ अर्ब ४ करोड ४० लाख रुपैयाँ बढी रमिट्यान्स बाहिरिएको थियो । सो अवधिमा ५ करोड ८० लाख बढी अमेकिरन डलर रेमिट्यान्स विदेशी कामदारले लगेका थिए ।

अघिल्लो आव २०७८/७९ मा पनि ५ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपालबाट विदेशी कामदारले लगेका थिए । नेपाली श्रमिकहरुले काम गर्न लाज मान्ने प्रवृत्ति तथा अल्छीपन पनि विदेशी श्रमिकहरुले वर्षे अबौं रुपैयाँ लाने गरेको उद्योगीहरु बताउछन् । नेपालले विदेशी कामदार बिदाइ गर्नेगरी आफ्ना मजदुरलाई परिचालित गर्नसक्ने हो भने ठूलो लाभ लिन सक्ने उद्योगीहरूको भनाई छ ।

नेपाल भित्र्ने रेमिट्यान्स २२ प्रतिशतले बढ्यो

नेपाल भित्रने रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह वृद्धि भएको छ । ११ महिनामा रेमिट्यान्स २२.७ प्रतिशतले वृद्धि भएको छ । चालु आवको ११ महिनामा कुल ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो ।

समिक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भएको छ । योसंगै जेठ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ४ लाख ५९ हजार ४१५ जनाले श्रम स्वीकृत लिएका छन् ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो ।

यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्