सरकारले सेयर कारोबारबाट पाउने करमा ठुलो गिरावट, ७ अर्ब ३८ करोड कहाँ गायब ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सरकारले सेयर कारोबारबाट पाउने करमा ठुलो गिरावट, ७ अर्ब ३८ करोड कहाँ गायब ?



काठमाडौं । सरकारले पाउने धितोपत्र पुँजीगत लाभकरमामा भारी गिरावट आएको छ । सेयर बजारमा आएको गिरावटसंगै सरकारले पाउने पुँजीगत लाभकरमा पनि कमी आएको हो ।

एक वर्षमा धितोपत्र पुँजीगत लाभकर बापत सरकारलाई प्राप्त हुने राजश्व ७ अर्ब ३८ करोड २४ लाख ७० हजार रुपैयाँले घटेको छ । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएसी) बाट प्राप्त तथ्याङकले यस्तो देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सेयर कारोबारबाट सरकारले १० अर्ब ३५ करोड ३० लाख ५९ हजार रुपैयाँ राजश्व प्राप्त गरेको थियो । गत आवमा भने ७१.३० प्रतिशतले घटेर २ अर्ब ९७ करोड ५ लाख ८९ हजार रुपैयाँ कायम भएको छ । सीडीएससीले सेयर कारोबारबाट सरकारलाई जाने राजश्वको एकीकृत तथ्यांक राख्ने गर्दछ ।

गत आवकामा सेयर बजारमा आएको मन्दीका कारण नै यस्तो राजश्व घटेको छ । बिशेषगरि नेप्से परिसुचक घट्दा यसबापत सरकारलाई जाने राजश्व पनि कमी देखिएको हो । लगानीकर्ताले सेयर कारोबारमा नाफा कमाएपछि नै सरकारलाई कर तिर्ने हो । अघिल्लो वर्ष नेप्से परिसुचक बढ्दो क्रममा थियो । फलस्वरुप सेयर कारोबार गर्ने अधिकांश लगानीकर्ताले नाफा कमाए, सोहीअनुसार गत आवमा यसबापत सरकारलाई जाने कर पनि बढी थियो ।

तर, गत आवममा भने नेप्से परिसुचक अर्थात् सेयर बजारमा उच्च मात्रामा गिरावट आएको छ । कहिलेकाँही सेयर बजारमा अस्थिरता पनि देखिएको छ । फलस्वरुप अधिकांश लगानीकर्ताले सेयर कारोबारमा घाटा बेहोर्नु परेको छ । त्यसपछि यसबापत सरकारलाई प्राप्त हुने राजश्व पनि घटेको लगानीकर्ताहरु बताउछन् ।

सीडीएसीका अनुसार व्यक्तिगततर्फ दीर्घकालीन लगानी गर्ने लगानीकर्ताले ८४ करोड ३८ लाख ९४ हजार १३३ रुपैयाँ पुँजीगत लाभकर सरकारलाई तिरेका छन् भने अल्पकालीन लगानीकर्ताले १ अर्ब २८ करोड ११ लाख ३६ हजार २९२ रुपैयाँ कर बुझाएको तथ्याङ्कमा उल्लेख छ । यस्तै, गत आवमा संस्थागत तर्फबाट भने १९ करोड ६५ लाख ८ हजार रुपैयाँ पुँजीगत लाभकर सरकारले पाएको छ।

सेयर बजारमा दीर्घकालीनभन्दा अल्पकालिन लगानीकर्ता बढेको तथ्याङ्कले देखाउँछ । सेयर किनेको एक बर्षपछि बिक्री गरिन्छ भने, त्यो दिर्घकालिन सेयर कारोबारमा गणना हुने गर्दछ । त्यस्तो कारोबारबाट हुने नाफामा ५ प्रतिशत कर लाग्छ । यस्तै, सेयर किनेको १ बर्ष भित्र नै बिक्री गरिन्छ भने, त्यो अल्पकालिन सेयर कारोबारमा पर्छ । त्यस्तो कारोबारबाट हुने नाफाम ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने गर्छ ।

सरकारले अघिल्लो आवमा भने सरकारले अल्पकालीन लगानीकर्ताबाट २ अर्ब ३६ करोड ६१ लाख २१ हजार ८४३ रुपैयाँ र दीर्घकालीन लगानीकर्ताबाट ६ अर्ब ४९ करोड ६५ लाख १८ हजार ७९८ रुपैयाँ पुँजीगत लाभकर पाएको छ । यस्तै संस्थागततर्फबाट १ अर्ब २६ करोड ४४ लाख २८ हजार ७२१ रुपैयाँ पुँजीगत लाभकर पाएको छ ।


प्रतिक्रिया दिनुहोस्