सिटिजन्स लाइफको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा २६ करोड ७४ लाख ३८ हजार ६४० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात साउन ४ गते साँझ ५:०३ बजेसम्म १५ हजार ६१४ जनाले १० लाख ९६ हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज अर्थात असार ३१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी अनुमति पाएको थियो । जसमा १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो ।
आइपीओमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने जनाएको छ । आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।













