ऋण परिचालन: ५ खर्बको लक्ष्यमा साढे ३ खर्ब प्राप्ति, २२ खर्ब २१ अर्ब पुग्यो सरकारको ऋण, प्रति नेपाली ७६ हजार दायित्व - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ऋण परिचालन: ५ खर्बको लक्ष्यमा साढे ३ खर्ब प्राप्ति, २२ खर्ब २१ अर्ब पुग्यो सरकारको ऋण, प्रति नेपाली ७६ हजार दायित्व



काठमाडौं । सरकारको ऋण प्राप्ती पनि लक्ष्य भन्दा ज्यादै न्यून देखिएको छ । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो भने ४ खर्ब ९८ अर्ब २६ करोड रुपैयाँ स्रोत ऋण मार्फत जुटाउने लक्ष्य राखेको थियो । तर, आर्थिक बर्षको अन्तिमसम्म आउँदा सरकारले ३ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ मात्रै ऋण प्राप्त गरेको छ, जुन लक्ष्य भन्दा १ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ कम छ ।

गत आवमा सरकारको राजश्व परिचालन समेत लक्ष्य भन्दा ज्यादैं न्यून थियो । त्यसपछि ऋण परिचालन पनि लक्ष्य भन्दा कम देखिएको हो । समिक्षा आवमा सरकारले आन्तरीक ऋण भने लक्ष्यअनुसार नै परिचालन गर्न सकेको देखिन्छ । तर, बाह्य ऋण प्राप्ती भने लक्ष्य भन्दा ज्यादै न्यून देखिएको हो ।

सरकारले गत आवमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरीक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । त्यसमा २ खर्ब ५५ अर्ब ९९ करोड रुपैयाँ आन्तरीक प्राप्ती भएको छ, त्योअनुसार आन्तरीक ऋण लक्ष्यअनुसार नै प्राप्ती भएको देखिन्छ । तर, बाह्य ऋण भने लक्ष्यअनुसार प्राप्ती नभएको तथ्यांकले पुष्टी गरेको छ । गत आवमा २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ बराबरको बाह्य ऋण परिचालन गर्ने लक्ष्य थियो । तर, बाह्य ऋण प्राप्ती भने १ खर्ब २ अर्ब १२ करोड रुपैयाँ प्राप्ती भएको थियो ।

बिशेषगरि वैदेशिक ऋणमा कार्यान्वयन भइरहेका कार्यक्रम तथा आयोजनाको भौतिक प्रगति राम्रो नहुदाँ यस्तो समस्या आएको बताइन्छ । वैदेशिक ऋण सम्बन्धीत कार्यक्रम तथा आयोजनाको भौतिक प्रगतिको आधारमा प्राप्ती हुन्छ । तर, गत आवमा वैदेशिक ऋणमा कार्यान्वयन भइरहेका कार्यक्रम तथा आयोजनाको भौतिक प्रगति सन्तोषजनक भएन । कतिपय वैदेशिक ऋण नीतिसँग पनि जोडिएका हुन्छन् । त्यसका लागि विभिन्न नीतिगत शर्तहरु पुरा गर्नुपर्छ, त्यस्ता शर्तहरु पुरा गर्न नसक्दा पनि वैदेशिक ऋण प्राप्ती लक्ष्यअनुसार नभएको अर्थ मन्त्रालयको भनाइ छ ।

सवा २२ खर्ब नाघ्यो सार्वजनिक ऋण, एक वर्षमै २ खर्ब थपियो

गत आवसम्ममा सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋणको दायित्व २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार सार्वजनिक गरेको गत आव २०७९/८० सम्मको तथ्यांकले यस्तो देखाएको हो । त्यसमा ११ खर्ब २८ अर्ब आन्तरीक र १० खर्ब ९३ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ ।

अघिल्लो आव २०७८/७९ सम्म सरकारले तिर्नुपर्ने ऋणको दायित्व २० खर्ब १३ अर्ब २९ करोड थियो । गत आवमा त्यो २ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । त्यसमा आन्तरीक ऋण १ खर्ब ४० अर्ब ८७ करोड र बाह्य ऋण ६७ अर्ब ५० करोड रुपैयाँ थपिएको छ । यद्यपि, सरकारले गत आवमा मात्रै ३ खर्ब ५८ अर्ब ११ करोड रुपैयाँ ऋण परिचालन गरेको थियो । यसरी ल्याइएको ऋणमा गत आवमा सरकारले आन्तरीक तर्फ १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ र बाह्य तर्फ ३४ अर्ब ६१ करोड साँवा बराबरको ऋण भुक्तानी गरेको छ । त्योअनुसार सरकारको ऋण २२ खर्ब २१ करोड हारहारी पुगेको हो ।

सरकारले चालु आवमा ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । त्योअनुसार चालु आवमा सरकारको ऋण २५ खर्ब हारहारी पुग्ने सम्भावना देखिन्छ । सरकारले गत आवको साउनमा २ अर्ब ४८ करोड रुपैयाँ ऋण ल्याएको छ । यसैगरि भाद्रमा ३ अर्ब ९२ करोड, असोजमा १८ अर्ब ४९ करोड, कात्तिकमा २ अर्ब ७२ करोड, मंसिरमा २४ अर्ब ३१ करोड, पुसमा २४ अर्ब ४१ करोड रुपैयाँ ऋण ल्याएको छ । साथै, माघमा ४१ अर्ब १० करोड, फागुनमा ३२ अर्ब ५० करोड, चैतमा ३३ अर्ब ४१ करोड, बैशाखमा ७२ अर्क ८४ करोड र जेठमा ४३ अर्ब ८३ करोड रुपैयाँ ऋण ल्याएको छ । साथै, बर्षको अन्तिम महीना असारमा ४३ अर्ब २९ करोड ४७ लाख रुपैयाँ ऋण ल्याएको तथ्यांकमा उल्लेख छ ।

आन्तरीक ऋण धेरै, एक जना नेपालीको भागमा ७६ हजार ऋण

सरकारको सार्वजनिक ऋणमा आन्तरीक ऋणको हिस्सा बढी भएको छ । अघिल्ला बर्षहरुमा सरकारको ऋणमा बाह्य ऋणको हिस्सा बढी थियो । तर, यसपाली लक्ष्यअनुसार बाह्य ऋण परिचालन गर्न नसकेपछि आन्तरीक ऋणको हिस्सा बढेको छ । सरकारको कुल ऋणमा आन्तरीक ऋण ११ खर्ब २८ अर्ब र बाह्य ऋण १० खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ ।

तुलनात्मक रुपमा बाह्य ऋणको व्याजदर सस्तो हुन्छ । आन्तरीक ऋणको व्याजदर भने महंगो नै हुन्छ । गत आवमा सरकारले १० प्रतिशत भन्दा बढी व्याज तिरेर आन्तरीक ऋण उठाइरहेको छ । यसरी आन्तरीक ऋणको हिस्सा बढ्दा व्याज बापतको दायित्व पनि बढेको छ । तसर्थ, ऋण परिचालन गर्दा बाह्य ऋणमै जोड दिनुपर्ने विज्ञहरुको भनाइ छ ।

तथ्याङ्क अनुसार एक जना नेपाली जनताको भागमा सार्वजनिक हिस्साको भाग ७६ हजार १७७ पुगेको छ । नेपालको जनगणना २०७८ अनुसार कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसंख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७६ हजार बढी हुने देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्