७ श्रावण २०८३, बिहिबार

आम्दानी बढ्दा पनि कसरी घट्यो विद्युत प्राधिकरणको नाफा ?



काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० मा नेपाल विद्युत प्राधिकरणले नाफा घटेकोछ । अघिल्लो आवहरुमा प्राधिकरणको नाफा बढ्दो क्रममा थियो । तर, गत आवमा त्यो घटेको हो ।

आव २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ अर्ब रुपैयाँ खुद नाफा (करपछिको) कमाएको थियो । तर, गत आवमा करअघिको नाफा नै १२ अर्ब ३३ करोड रुपैयाँमा सिमित भएको छ । नेपाल विद्युत प्राधिकरणबाट प्राप्त गत आवको अपरिष्कृत तथ्यांकले यस्तो देखाएको हो । प्राधिरकणले कर तिरेपछि यो नाफा थप घट्ने छ ।

आव २०७७/७८ मा प्राधिकरणको खुद नाफा ६ अर्ब १० करोड रुपैयाँ रहेको थियो । त्यो नाफा आव २०७८/७९ मा दोब्बर भन्दा बढी भएको थियो । तर, गत आवमा त्यो घट्न गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

बिशेषगरि गत आर्थिक बर्षमा सुख्खा याम लम्बिदाँ भारतबाट बढी बिजुली आयात गर्नु परेको थियो । त्यसले गर्दा नाफा घटेको घिसिङको भनाइ छ । ‘गत आवमा शुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आयोजनो । र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको छ,’ उनले भने । यद्यपि, हालसम्म प्राधिकरणको सञ्चित मुनाफा ३६ अर्ब ६७ करोड पुगेको उनको भनाई छ।

समिक्षा वर्षमा प्राधिकरणको कुल आम्दानी बढेर १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७८/७९ मा त्यो १ खर्ब १ अर्ब रुपैयाँ रहेको थियो । तर, यसपाली प्राधिकरणको आम्दानी भने बढेको छ । आम्दानी बढ्दा पनि प्राधिकरणको नाफा घटेको तथ्यांकले पुष्टी गरेको छ । समिक्षा बर्षमा प्राधिकरणको खर्च १ खर्ब ४ अर्ब ६३ करोड रुपैयाँ देखिएको छ ।

गत आवमा विद्युत चुहावट पनि घटेको छ । गत आवमा विद्युत चुहावट १३.४६ प्रतिशतमा झरेको हो । आव २०७७/७८ मा १७.३८ प्रतिशत र आव २०७८/७९ मा १५.३८ प्रतिशत रहेको विद्युत चुहावट गत आवमा भने घटेको हो । गत आवमा वितरणतर्फको विद्युत चुहावट ९.७६ प्रतिशतमा सिमित भएको घिसिङको भनाइ छ ।

गत आवमा ९५ प्रतिशत नेपालीमा विद्युतको पहुँच विस्तार भएको छ । अघिल्लो आवमा त्यो ९३ प्रतिशत हारहारी थियो, अहिले त्यो बढेको हो । अबको दुई बर्षमा सबै नेपालीमा विद्युत पहुँच विस्तार हुने घिसिङले बताए ।

समिक्षा बर्षमा प्रतिव्यक्ति विद्युत खपत ३८० युनिट पुगेगको छ । दुई बर्ष अघि यो २३५ युनिट थियो । अहिले त्यो बढेर ३८० युनिट पुगेको घिसिङले बताए ।


प्रतिक्रिया दिनुहोस्