बैंकहरु साहुजी जस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्छ: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताएका छन् ।नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको हुदा बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताए । उनले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताए ।
उनले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरुको लागि असहयोगी भएको दाबी उल्लेख गरे । उनले उद्योग बन्द हुँदा व्यवसायीहरु अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको बताए ।
उनले भने,‘अहिले निजी क्षेत्र अघि बढ्न खोज्दा खेरी समयअनकुल निजी क्षेत्रलाई अगाडि बढ्नको लागि सरकारले अनकुलता प्रदान गरेन । जब उद्योग व्यवसाय संकटमा हुन्छन् । त्यतिबेला सरकार चाहिने हो । सजिलो भएको बेला सरकार किन चाहिन्छ । तर उद्योग र कारोबार बचाउनुपर्ने बेलामा सरकारको सहयोग चाहिन्छ । अहिले निजी क्षेत्रले भोगि रहनुभएको छ । कर्जा लिनुहुन्छ । कर्जा भुक्तानी गर्ने समय सरकारले बढाउनु पर्छ । कतिपय बैंकिङ क्षेत्रमा पनि हुनुहुन्छ होला । बैंकहरुले पनि आफूले सुधार गर्नुपर्ने देखियो । बैंक साउजी मात्रै होइन । उद्योगीहरुको सहयोगी हो । उद्योगी भनेको आसामी मात्रै होइन । उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने थिएन । उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाई दिएको छ । बैंकले आफूलाई मात्रै हेर्ने होइन अफ्ठ्यारोमा परेका उद्योगीहरुलाई ऋण तिर्न सक्दिन भन्ने अवस्थामा पुगेको उद्योगलाई थप ऋण दिएर ऋण तिर्नसक्ने अवस्थामा पु¥याउनु पर्छ । त्यसका निम्ति सरकारले नीतिगत र व्यवहारीक रुपमा सहजिकरण गर्ने काम गर्नुपर्छ ।’
अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताए ।
















