१ लाख २१ हजारले पाउने हाथवे इन्भेष्टमेन्टको आइपीओमा कतिले दिए आवेदन ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ४११ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २५ गते अन्तिम दिन साँझ ५ः०७ बजेसम्म ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका हुन् । जस मार्फत १ अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले भदौ २१ गतेदेखि प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आइपीओ निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
जसमा १ लाख २१ हजार २८७ जनाले २०।२० कित्ता सेयर हात पार्नेछन् । सोहि मध्यका पाँच जनाले भने २१ कित्ता हात पार्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
















