नेपालको अन्तर्राष्ट्रिय व्यापार: आयात र निर्यात दुवै घट्यो, वैदेशिक व्यापार घाटा २ खर्ब ३३ अर्ब बढी
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा आयात र निर्यात दुवै घटेको छ । चालु आवको भदौ महिनासम्ममा आयात ५.०६ प्रतिशतले घटेको छ ।
भन्सार विभागका अनुसार चालु आवको भदौ महिनासम्ममा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । तर, गत आवको सोही अवधिमा भने २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको आयात भएको थियो ।
चालु आवको दुई महिनामा निर्यात पनि ७.७९ प्रतिशत घटेको छ । अघिल्लो आवको भदौ महिनासम्ममा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको थियो । तर, चालु आवको सोही अवधिमा २ अर्ब २३ करोड ३४ लाख रुपैयाँले घटेर २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको भदौ महिनासम्मको तुलनामा ४.७४ प्रतिशतले कमीले हो । गत आवको सोही अवधिमा पनि २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ व्यापार घाटा नेपालले ब्यहोरेको थियो ।













