१७ श्रावण २०८३, आइतबार

फूलपातीको रोचक कथा: दसैँको महत्त्वपूर्ण हिस्सा



काठमाडौं । असत्यमाथि सत्यको विजय । दानवको समूल नष्ट गरी देवताहरूको विजयको उत्सवको समय । अत्याचारको अन्त्य गर्दै शान्ति र स्वतन्त्रता स्थापित भएको मान्यता । यस्ता अनेकौँ सन्दर्भहरू गाँसिएर आउने दसैँ पर्वले यति बेला नेपालीहरूको घर घरमा प्रवेश पाइसकेको छ । 

नेपालीहरूको महान् चाड दसैँ एउटा आदिम कालिन परम्पराको निरन्तरता मात्र होइन । यो  केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्त्व छन् । भावनात्मक महत्त्व छ, जसले टाढा–टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइपुर्‍याउँछ । गाउँदेखि सहर र देशदेखि परदेशसम्म साइनो गाँस्न पुग्दछ । जसले समाजलाई एक सूत्रमा जोड्छ । जसबाट मात्र समाजको एकीकृत सम्बन्ध, शक्ति र आपसी भाइचाराको केन्द्रीकृत सामाजिक संस्कृति निर्माण गरिरहेको हुन्छ । समाज शास्त्रीय दृष्टिकोणले पनि दसैँको बहु आयामिक महत्त्व छ । यही मूल्य र मान्यताबाट नै यो सदियौँदेखि स्थापित भइरहेको हो ।  

दसैँ पर्वको त्यस कारण पनि अनेकन् सामाजिक महत्त्व छन्, धार्मिक महत्त्व छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्त्व छ, जसले खाद्यान्न, लत्ताकपडादेखि अतिरिक्त बजार सामग्रीहरू सम्मको बजार उत्कर्षमा पुर्‍याउँछ । उत्पादन, आम्दानी र खपतको हिस्सा निर्माण गरिरहँदा व्यक्तिदेखि सिङ्गो समाजलाई विकास अनि सम्मृद्धितर्फ अग्रसर गराउन पनि विशेष भूमिका खेल्दछ ।

दसैँ, समग्रमा यो हाम्रो जीवन पद्धतिको एउटा हिस्सा हो । सद्भावको पर्व हो । एकताको पर्व हो । घटस्थापना देखि दसैँको विधिवत् सुरुवात हुन्छ । घटस्थापनाको दसौँ दिनमा टिका । अर्थात् आफन्त, गन्यमान्यबाट टीका थाप्ने दिन । यसलाई विजय दशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो । असत्यमाथि सत्यको विजय । दसैँ सुरु भएदेखि हरेक दिनको आ–आफ्नै महत्त्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । हाम्रो जीवन पद्धतिलाई सुखदायी, प्रेममय बनाउने सूत्र पनि छ यसमा । दसैँ–संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर हाँस्न र बाँच्न प्रेरित गर्छ, संयमित र सन्तुलित जीवन ।

दसैँ खास गरी टिका, जमरा, दक्षिणा र आशीर्वादसँग मात्र सीमित छैन । दसैँ अर्थात् दशमीसम्म आई पुग्नुमा यसअघिका दश दिनका दिनहरू पनि उत्तिकै महत्त्वपूर्ण दिनहरू मानिन्छन् । घटस्थापनादेखि एक–एक गर्दै पर्वकै रूपमा दसैँका दसैँ दिनहरूले भिन्न–भिन्न सांस्कृतिक मूल्य पुरा गर्दछन् । जसमध्ये सातौँ दिनको घटस्थापनालाई विशेष रूपमा लिइन्छ । 

किन र कसरी मनाइन्छ फूलपाती ?

आज सप्तमी तिथिको दिन । दसैँ पर्वको सप्तमी अर्थात् फूलपाती । यो तिथिको पनि विशेष महत्त्व छ । सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दसैँ सुरु भए पनि दसैँको चहलपहल भने आज अर्थात् फूलपातीदेखि सुरु हुन्छ । घर–घरमा फूलपाती भित्र्याएपछि दसैँको रौनक सुरु हुन्छ । शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।

नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येक नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याइने प्रचलन छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता यी नौ पातमा ब्रम्हाणी, रक्त चण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरेर सोह्र सामग्रीले पुजिन्छ । यस दिन गोरखा दरबारको दसैँ घरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमान ढोका भित्र्याइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्ड बाजा, पञ्चेबाजा, सिँगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने गरिन्छ । भनिन्छ, टुक्रे राज्यको रूपमा रहेको नेपाल एकीकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरुमा पुर्‍याउने गरिन्थ्यो । काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।

जसै गरी, धार्मिक सम्पदा र संस्कृतिले शताब्दीयौंदेखि धनी मानिने नुवाकोट दरबारमा पनि यसको भिन्नै रौनकता ल्याउने गर्छ । नेपाल एकीकरणपश्चात्को पहिलो राजधानी मानिने नुवाकोट दरबार क्षेत्रमा फूलपाती भित्र्याइन्छ । जिल्लाका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा नेपाली सेनाको विशेष टुकडीले तोप र सलामी अर्पण गर्दै तलेजु भवानीको मन्दिरमा गरिने फूलपाती भित्र्याउने यो चलनले दसैँको विशिष्टतालाई थप सौन्दर्य दिलाउँदछ ।  

यसरी मनाइन्छ फूलपाती

घटस्थापनाको दिनदेखि दसैँ सुरु भएर दशैको चहलपहल भने फूलपाती सम्म रहन्छ । जसका कारण फूलपातीको आफ्नै महत्त्व रहेको छ । गोरखा देखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

दशैको रौनक घर–घरमा फूलपाती भित्राएर सुरु हुन्छ । शुभ साइतको प्रतीक मानेर फूलपाती भित्राउने गरिन्छ । हनुमान ढोका दरबारमा राजतन्त्रको समयमा हनुमान ढोकाका दरबारको दशैघरमा फूलपाती भित्राउँदा राजा उपस्थित हुने चलन रहे पनि हालको गणतन्त्रमा भने सस्कृति मन्त्री उपस्थित हुने गरेका छन् । जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्ड बाजा, पञ्चेबाजा, सिँगारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने चलन छ ।