निरन्तर बढ्दै पेन्सन बापत नेपालमा भित्रने विदेशी मुद्रा: दुई महिनामै आयो १३ अर्ब २४ करोड, अर्थतन्त्रमा कस्तो योगदान ?
काठमाडौँ । नेपालमा पेन्सन बापत भित्रने विदेशी मुद्रा वृद्धि भएको छ । नेपालीहरूले वैदेशिक रोजगारीबाट रिटायर अर्थात् अवकाश भएपछि नियमित रूपमा पेन्सन बापत पाउने रकम दोहोरो अङ्कले बढेको हो । दुई महिनामै यस्तो रकम १३ अर्ब रुपैयाँ भन्दा बढी भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्कले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिना अर्थात् साउन र भदौमा नेपाली पेन्सन बापत १३ अर्ब २४ करोड ४५ लाख ५५ हजार रुपैयाँ भित्र्याएका छन् । जुन, गत आवको सोही अवधिको तुलनामा २१.६ प्रतिशतले बढी हो । गत आवको साउन र भदौमा १० अर्ब ८९ करोड ५ लाख रुपैयाँ नेपाल भित्रिएको थियो ।
अघिल्ला आवहरूमा भने यस्तो रकम १० अर्ब भन्दा कम थियो । तर, पछिल्लो समयमा भने निरन्तर वृद्धि भइरहेको छ । नेपालीहरूले भारत, सिंगापुर लगायतका देशको आर्मी लगायतका सरकारी सेवामा रोजगारी गर्दै आएका छन् ।यसका साथै अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि काम गर्ने गरेका छन् । त्यहाँबाट रिटायर (अवकाश) भएपछि उनीहरूले त्यहाँको कानुनी प्रावधानबाट नियमित पेन्सन पनि पाउँछन् । उनीहरूले सम्बन्धित देशबाट मासिक, अर्धवार्षिक, वार्षिक रूपमा पेन्सन पाउँछन् । सोही बापत नेपालमा विदेशी मुद्रा भित्रिएको हो । विशेषगरि नेपालमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट आउने गरेको छ । पछिल्लो समय यस्तो आम्दानी बढ्दै पनि गएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको हो ।
गत आवभर पनि यस बापत कुल ७५ अर्ब २४ करोड २९ लाख रुपैयाँ नेपाल भित्रिएको थियो । जुन, अघिल्लो आवको तुलनामा २१.४३ प्रतिशतले बढी हो । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्ष पनि कुल ६१ अर्ब ९६ करोड २१ लाख रुपैयाँ विदेशी पेन्सन बापत नेपालले आम्दानी गरेको थियो ।
नेपालको अर्थतन्त्रमा पेन्सन बापत हुने आउने पैसाको पनि ठुलो योगदान रहेको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । यसले अर्थतन्त्रको बाह्य क्षेत्र सहज बनाउन भूमिका खेल्ने उनीहरूको तर्क छ ।
विभिन्न कारणवश अघिल्लो आव नेपालको विदेशी मुद्रा आम्दानी खस्किएको थियो, त्यसले अर्थतन्त्रको बाह्य क्षेत्र दबाबमा थियो । तर, पछिल्लो समय विदेशी मुद्रा आम्दानी बढेको छ । त्यसले अर्थतन्त्रको बाह्य क्षेत्र पनि सहज अवस्थामा पुगेको छ ।













