७ श्रावण २०८३, बिहिबार

नेपालमा भुक्तानी प्रणालीको अभूतपूर्व विकास, ‘क्यासलेस अर्थतन्त्र’ तर्फ यसरी मार्दै छ फड्को 



काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी र कारोबार व्यापक रूपमा बढी रहेको छ । पछिल्लो समय सर्वसाधारणको आकर्षण डिजिटल भुक्तानीमा बढ्दो देखिएको हो । 

विशेषगरि पछिल्लो समय मोबाइल बैङ्किङ र क्युआर कोड मार्फत हुने भुक्तानी उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त भएको गत भदौ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विद्युतीय कारोबार सहज र सस्तो भएकाले पनि यस तर्फ आम मानिसको आकर्षण उच्च देखिन्छ । 

भदौ मसान्तसम्ममा क्युआर कोड मार्फत हुने भुक्तानी शतप्रतिशत वृद्धि भएको छ । गत वर्षको भदौमा १५ अर्ब २ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी क्युआर कोड मार्फत भएको थियो । तर, चालु आवको सोही अवधिसम्म भने १०३.३८ प्रतिशतले वृद्धि भएको छ । गत भदौ मसान्तसम्ममा ३० अर्ब ५६ करोड ४० लाख बढी क्युआर कोड मार्फत भुक्तानी भएको छ । सो महिनामा १ करोड १८ लाख ९९ हजार १७५ पटक क्युआर कोड मार्फत भुक्तानी भएको राष्ट्र बैङ्कले जनाएको छ । 

गत साउन महिनामा पनि क्युआर कोड मार्फत २९ अर्ब ९९ करोड ६० लाख बढी भुक्तानी भएको राष्ट्र बैङ्कले जनाएको छ । पछिल्लो समय सानातिना किनमेललाई क्युआर कोडमार्फत डिजिटल भुक्तानीको दायरामा ल्याउने विषयमा उल्लेख्य प्रगति भएको राष्ट्र बैङ्कले जनाएको छ । नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षण छ ।

राष्ट्र बैङ्कले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैङ्क तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाइरहेको छ । राष्ट्र बैङ्कका अधिकारीका अनुसार पछिल्लो समय नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेक्ट  आइपिएस्, इ–कर्मश, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, वालेट, क्युआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको बताउँछन् ।

डिजिटल कारोबार मार्फत एक बैङ्कबाट अर्को बैङ्कको खातामा रकम पठाउने, आफूलाई आवश्यक वस्तुहरूको किनमेल, टेलिफोन, विद्युत्, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने लगायतको काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरूको आकर्षण दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समय कनेक्ट आइपिएस्, क्युआर कोड अर्थात् (क्विक रेस्पोन्स पेमेन्ट) सेवा र मोबाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ । कारोबारमा पनि सहजता र विश्वसनीयता पनि थपिँदै गएको देखिन्छ । 

पछिल्लो समय मोबाइल बैंकिङ्ग कारोबार पनि उत्तिकै बढेको छ । सर्वसाधारणको बढी आकर्षण मोबाइल बैंकिङ्ग कारोबारमा देखिएको हो । गत भदौ मसान्तसम्ममा मोबाइल बैंकिङ्ग मार्फत २ खर्ब ४२ अर्ब २६ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको सोही महिनाको तुलनामा ६५.७६ प्रतिशतले बढी हो । गत वर्षको भदौमा मोबाइल बैंकिङ्ग मार्फत १ खर्ब ४६ अर्ब १४ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । गत साउन मसान्तसम्ममा पनि मोबाइल बैंकिङ्ग मार्फत २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । तर, भदौमा भने मोबाइल बैंकिङ्ग मार्फत ३ करोड ४४ लाख ९३ हजार २५२ पटक भुक्तानी भएको देखिएको छ ।

नेपालको अर्थतन्त्र बिस्तारै क्यासलेस तर्फ धकेलिरहेको छ । सरकारले पनि डिजिटल पेमेन्टलाई बढवा दिन विभिन्न पेमेन्ट कम्पनीहरूलाई आफ्नो पेमेन्ट सिस्टममा जोडेको छ । ई सेवा, खल्ती, फोन पे, आइएमई पे जस्ता माध्यमबाट सरकारी सेवाको शुल्क तिर्न सकिने व्यवस्था समेत गरिएको छ ।राष्ट्र बैङ्कका अनुसार पछिल्लो समय वालेट मार्फत हुने कारोबार पनि वृद्धि भएको छ । विद्युतीय भुक्तानी सेवा प्रदायक वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको हो । 

गत वर्षको भदौ महिनामा १७ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार वालेट मार्फत भएको थियो । तर, यस वर्षको सोही महिनामा भने १९.६० प्रतिशतले वृद्धि भएको छ । गत भदौ मसान्तसम्ममा वालेट मार्फत २१ अर्ब ९ करोड २० लाख रुपैयाँभन्दा माथि छ । राष्ट्र बैङ्कको तथ्याङ्कले पनि पछिल्लो समय वालेटमार्फत हुने कारोबार रकम बढ्दै गएको पुष्टि गरेको छ । गत भदौसम्ममा २ करोड २४ लाख १४ हजार ५७६ पटक वालेट मार्फत भुक्तानी भएको थियो । 

वालेट कारोबार प्रचलनमा आएको केही वर्ष मात्रै भएको छ । तर, प्रचलनमा आएको छोटो समयमा नै वालेटको प्रयोग बढ्दै गएको तथ्याङ्कले देखाउँछ । विशषगरि वालेटको सेवा तथा सुविधाको दायर व्यापक रूपमा विस्तार भएसङै यस मार्फत हुने कारोबार रकम बढेको गएको राष्ट्र बैङ्कले जनाएको छ । वालेट मार्फत बैङ्क खातामा पैसा जम्मा गर्ने, इन्टरनेट-पानी-बिजुलीको बिल पे गर्ने, हवाई टिकट, फिल्म टिकट, मोबाइल रिचार्ज लगायत थुप्रै सेवा सुविधा यसमा हुन्छन् ।

यस्तै भदौमा कनेक्ट आइपिएस् मार्फत ३ खर्ब ७१ अर्ब ८० करोड ४० लाख रुपैयाँ बढी कारोबार भएको छ । सो महिनामा ५५ लाख ९ हजार ५८५ पटक कनेक्ट आईपिएस गरेका छन् । यता, आइपिएस् मार्फत १ खर्ब ५३ अर्ब ९२ करोड, इन्टरनेट बैंकिङ्ग मार्फत १२ अर्ब ९५ करोड, पिओएस मार्फत ४ अर्ब ४५ करोड ९० लाख, इकमर्श मार्फत ६० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

२ करोड १९ लाख नाघ्यो मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या, वालेट र कनेक्ट आइपिएस् कति ?

गत भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या सवा दुई करोड बढी पुगेको छ । सो अवधिसम्म मोबाइल प्रयोगकर्ताको सङ्ख्या २ करोड १९  लाख ५७ हजार ६९२ पुगेको हो ।

एक वर्षको अवधिमा १६.२४ प्रतिशतले यस्तो प्रयोगकर्ता बढेका हुन् । अर्थात् एक वर्षमै ३० लाख ६८ हजार २६२ प्रयोगकर्ता थपिएका हुन् । गत साउन मसान्तसम्ममा पनि मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या जम्मा २ करोड १६ लाख ९१ हजार ४७४ मात्रै रहेको थियो । 

यस्तै, समीक्षा अवधिमा वालेट प्रयोगकर्ताको सङ्ख्या पनि निरन्तर बढी रहेको छ । हाल वालेट प्रयोगकर्ताको सङ्ख्या १ करोड ९९ लाख २२ हजार ४४३ पुगेको छ । गत वर्षको भदौमा १ करोड ४५ लाख २५ हजार १४४ रहेको थियो । गत साउनमा पनि वालेट प्रयोगकर्ता १ करोड ९५ लाख ४० हजार ३०५ मात्रै रहेका थिए । 

यस्तै, इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता १८ लाख ८८ हजार ३४५, कनेक्ट आइपिएस् ११ लाख ४५ हजार ७२४, आइपिएस् सदस्य ११८ वटा, इसिसी सदस्य ५३ रहेको छ । 


प्रतिक्रिया दिनुहोस्