काठमाडौँ उपत्यकामा बढ्दै घर जग्गा किनबेच: राजश्व पनि दोब्बर बढ्यो, फर्किँदै कारोबारमा उत्साह
काठमाडौँ । काठमाडौँ उपत्यकामा घर जग्गा कारोबार बढेको छ । उपत्यकाको तीन जिल्लाका ९ वटा मालपोत कार्यालयहरू छन् । तीन महिनामा ती कार्यालयहरू मार्फत ११ हजार ३४२ वटा घर जग्गा किनबेच (लिखित पारित) भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास अर्थात् साउन, भदौ र असोज महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्म आइपुग्दा काठमाडौँ उपत्यकामा घर जग्गा किनबेच बढ्न थालेको छ ।
गत आवको पहिलो त्रैमासको तुलनामा भने उपत्यकामा घर जग्गा किनबेच दोहोरो अङ्कले (१०.३६ प्रतिशतले) बढेको हो । गत वर्षको साउन, भदौ र असोजमा कुल १० हजार २७७ वटा घर जग्गा कारोबार भएको थियो ।
विभागको तथ्याङ्कअनुसार गत असोज महिनामा मात्रै ४ हजार २८४ वटा घर जग्गा किनबेच भएको छ । जुन गत वर्षको असोज महिनाको तुलनामा भने ५५.१६ प्रतिशतले बढेको हो । गत वर्षको असोज महिनामा भने उपत्यकामा कुल २ हजार ७६१ वटा घर जग्गा किनबेच भएको थियो । सरकारले गत साउनदेखि अर्थतन्त्र चलायमान बनाउने भन्दै कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सोही निर्णय पश्चात् नै घर जग्गा किनबेच बढेको हो । सरकारले भू–उपयोग सम्बन्धी पहिलो संशोधन नियमावली,२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुलाएको थियो ।
कित्ताकाट खुलाएको महिनामै कारोबार नबढे पनि त्यसपछिका महिनामा भने बढ्दै गएको देखिन्छ । पछिल्लो समय बैङ्कहरूको ब्याजदरमा पनि घट्दो क्रममा छ । बैङ्क ब्याजदर घट्दा पनि घर जग्गा कारोबार बढेको व्यवसायीहरू बताउँछन् । कित्ताकाटको परिणाम अगामी महिनामा बिस्तारै देखिँदै जाने उनीहरूको भनाई छ । यद्यपि, कित्ताकाटको सहज कार्यान्वयन भने हुन नसकेको बताइन्छ ।
विभागका अनुसार देशभर नै घर जग्गा कारोबार बढ्दै गएको छ । चालु आवको तीन महिनामै १ लाख ४८ हजार ८३० वटा घर जग्गा किनबेच भएको हो । गत असोज महिनामा मात्रै देशभर ३९ हजार ८८१ वटा घर जग्गा खरिदबिक्री भएको तथ्याङ्कमा उल्लेख छ ।
असोजमा भक्तपुरमा धेरै घर जग्गा किनबेच, राजश्व सङ्कलनमा डिल्ली बजार कार्यालय पहिलो
काठमाडौँ उपत्यकाका ९ वटा कार्यालयमध्ये सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट भएको छ । असोज महिनामा सो कार्यालय मार्फत ९९५ वटा घर जग्गा खरिदबिक्री भएको विभागले जनाएको छ ।
दोस्रो स्थानमा रहेको भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरबाट भने ९५६ वटा घर जग्गा किनबेच भएको देखिन्छ । यस्तै, मालपोत कार्यालय कलङ्कीबाट पनि ७२९ वटा, साँखुबाट ४६६ वटा, मनमैजु कार्यालयबाट २८६ वटा र डिल्लीबजारबाट २१० वटा घर जग्गा किनबेच भएको छ । यस्तै, मालपोत कार्यालय टोखाबाट १५४ वटा र गोटी खेल ललितपुरबाट १८ वटा घर जग्गा किनबेच भएको विभागले जनाएको छ ।
उपत्यकामा घर जग्गा किनबेच बढेसँगै राजश्व सङ्कलन पनि बढेको छ । असोज महिनामा काठमाडौँ उपत्यकाबाट मात्रै कुल १ अर्ब ८३ करोड ३३ लाख १० हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । जुन गत वर्षको असोज महिनाको तुलनामा झन्डै दोब्बरले बढी हो । गत वर्षको असोजमा काठमाडौँ उपत्यकाका मालपोत कार्यालय मार्फत ९३ करोड ६६ लाख ४४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।
९ वटा कार्यालयमध्ये सबैभन्दा धेरै राजश्व मालपोत कार्यालय डिल्लीबजारबाट उठेको छ । सो कार्यालय मार्फत असोजमा मात्रै ३९ करोड ७६ लाख ५५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो । दोस्रो स्थानमा रहेको लगनखेल कार्यालयबाट पनि ३७ करोड ५७ लाख ६९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
विभागका अनुसार मालपोत कार्यालय भक्तपुरबाट २९ करोड १५ लाख १३ हजार, चाबहिलबाट २७ करोड १ लाख ४४ हजार, कलङ्कीबाट २५ करोड ४८ लाख, टोखाबाट ८ करोड ९० लाख ६२ हजार, साँखुबाट ८ करोड ५ लाख, मनमैजुबाट ७ करोड ३४ लाख र गोटी खेल ललितपुर कार्यालयबाट २ लाख ९८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।













