झन्डै १ अर्ब बचतमा शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति १२ अर्ब ३३ करोड डलर नाघ्यो
काठमाडौं । तीन महिनामा शोधनान्तर स्थिति झण्डै एक अर्ब बचतमा रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो तीन महिनाको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । तर, अघिल्लो वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति १२ खर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालु खाता पनि ५९ अर्ब ९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५९ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाख रुपैयाँले धनात्मक रहेको थियो ।
यस्तै, तीन महिनामा विदेशी विनिमय सञ्चिति पनि ६.७ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । तर, असोज मसान्तसम्ममा आइपुग्दा भने बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ५.३ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तमा ११ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । तर, असोज भने मसान्तमा वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । तर, असोज मसान्तसम्म आइपुग्दा भने ६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ पुगेका छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा असोज मसान्तमा ८.३ प्रतिशतले वृद्घि भई २ खर्ब ९ अर्ब ७३ करोड कायम भएको छ । गत असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ ।
चालु आवको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमश: ३०.५ प्रतिशत, ८५.७ प्रतिशत र २६.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमश: २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।













