४६ प्रतिशतले बढ्यो नेपालबाट बाहिरिने रेमिट्यान्स, विदेशी कामदारले कति लागे ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालबाट बाहिरिने रेमिट्यान्स ४६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त एक तथ्याङ्कले यस्तो देखाएको छ ।
चालु आवको पहिलो चार महिना अर्थात् कात्तिक मसान्तसम्म नेपालबाट ३ अर्ब १५ करोड ७१ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत आवको सोही अवधिमा भने नेपालबाट २ अर्ब १६ करोड ५ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । अघिल्लो आव २०७८/७९ को पहिलो चार महिनामा भने २ अर्ब ७ करोड २ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो ।
नेपाल सरकारको वर्क पर्मिट ल्याएर नेपालमा काम गर्न आउने विदेशी कामदारले सो बराबरको रेमिट्यान्स आफ्नो देश पठाएका हुन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ । तर, नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्दै आएका विदेशी कामदारले पठाउने रेमिट्यान्स भने यसमा समावेश छैन ।
नेपालमा भारतका थुप्रै कामदार नेपालमा अनौपचारिक रूपमा काम गर्दै आएका छन् । उनीहरूले आफूले कमाएको पैसा नगद नै आफ्नो देश लैजान्छन्, जुन तथ्याङ्क यसमा समावेश छैन ।
नेपालमा विदेशी लगानीका कम्पनी, आयोजनाहरूमा विदेशी कर्मचारी छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थामा समेत विदेशी कर्मचारी छन् । जलविद्युत आयोजनाहरूमा पनि चिनियाँ, भारतीय कामदारहरू आउने गर्छन् । उनीहरूले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउछन्, जसरी विदेश काम गर्न नेपालीले नेपालमा रेमिट्यान्स पठाउछन् ।
नेपालमा कति भित्रियो रेमिट्यान्स ?
समीक्षा अवधिमा नेपालमा आउने रेमिट्यान्स भन २६.४ प्रतिशतले बढेर ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।
गत आवको समीक्षा अवधिमा नेपालमा ३ खर्ब ११ अर्ब ९४ करोड बराबरको रेमिट्यान्स आएको थियो । समीक्षा अवधिमा नेपालबाट बाहिरिने भन्दा भित्रिने रेमिट्यान्स ४ खर्ब ७४ अर्ब ८० करोड रुपैयाँले बढी छ । वैदेशिक रोजगारमा जाने नेपालीको सङ्ख्या बढेपछि रेमिट्यान्स आप्रवाह बढेको बताइन्छ ।













