नेपालको अन्तर्राष्ट्रिय व्यापारमा देखिएन सुधार: आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा साढे ५ खर्ब नाघ्यो
काठमाडौं । अझै पनि नेपालको अन्तर्राष्ट्रिय व्यापार अर्थात् आयात र निर्यातमा सुधार आएको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा आयात र निर्यात दुवै खुम्चिएको हो ।
भन्सार विभागका अनुसार चालु आवको पाँच महिनामा आयात ३.३९ प्रतिशतले घटेको छ । मंसिर मसान्तसम्ममा नेपालले ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, गत आवको सोही अवधिको तुलनामा भने यो ३.३९ प्रतिशतले कमी हो । गत आवको मंसिर मसान्तसम्ममा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख बढीको आयात भएको थियो ।
यस्तै, समिक्षा अवधिमा निर्यात पनि ६.०९ प्रतिशतले घटेर ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँमा सिमित भएको छ । तर, गत आवको सोही अवधिमा भने ६७ अर्ब ३० करोड बढीको वस्तु निर्यात गरेको थियो ।
समिक्षा अवधिमा नेपालको वैदेशिक व्यापार घाटा भने ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ छ । यद्यपि, गत आवको मंसिर मसान्तसम्मको तुलनामा भने ३.०९ प्रतिशतले कमी हो । आयात र निर्यात घटेपछि नेपालको वैदेशिक व्यापार पनि ३.६४ प्रतिशतले खुम्चिएको छ । समिक्षा अवधिमा यस्तो व्यापार ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ कायम भएको छ ।













