२७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ६ खर्ब १३ अर्ब भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखिएको हो ।
गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले बढेर ४ अर्ब ६२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेको छ ।













