७ श्रावण २०८३, बिहिबार

सरकारको राजश्व प्राप्ति कमजोर: लक्ष्यअनुसार उठाउनै मुस्किल, ६ महिनामा ३५.१९ प्रतिशत मात्रै



काठमाडौँ । सरकारले लक्ष्य अनुसारको राजश्व उठाउन सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले लक्ष्यअनुसार राजश्व उठाउन नसकेको देखिएको छ । चालु आवको अर्धवार्षिक अवधिमा सरकारले लक्ष्यको आधा पनि राजश्व उठाउन नसकेको हो । 

चालु आवमा सरकारले कर, गैर कर र ग्रान्ट (सहयोग) लगायतका माध्यमबाट १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, ६ महिना अर्थात् पुस मसान्तसम्म त्यसको ३५.१९ प्रतिशत अर्थात् ५ खर्ब १८ अर्ब १५ करोड ५६ लाख मात्रै राजश्व उठेको छ ।

अर्धवार्षिक अवधिमा लक्ष्यको आधा (५० प्रतिशत) राजश्व उठेमा राम्रो मान्ने गरिन्छ । त्यसमाथि पुसमा धेरै राजश्व उठ्ने गर्छ । कम्पनीहरूले गएको लेखापरिक्षण गरेर पुस मसान्त भित्र कर बुझाउन पर्छ । त्यो अनुसार यो  समयमा कर सङ्कलन धेरै हुन्छ । तर, यही अवधिमै सरकारको राजश्व प्राप्ति कमजोर देखिएको छ । पुस मसान्तसम्म मात्रै २८ अर्ब ४० करोड ९१ लाख रुपैयाँ मात्रै कर उठेको छ । 

समीक्षा अवधिमा कर मार्फत ४ खर्ब ४३ अर्ब ५५ करोड २० लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । गैर कर मार्फत ५२ अर्ब ९४ करोड ७८ लाख, सहयोग मार्फत २ अर्ब ७५ करोड ८० लाख र अन्य प्राप्तिबाट १८ अर्ब ८९ करोड ७८ लाख राजश्व प्राप्त भएको छ । समीक्षा अवधिमा सरकारको बजेट भने ४८ अर्ब ४६ करोड ५७ लाख रुपैयाँले घाटामा गएको छ । 

खर्च पनि कमजोर, पुँजीगत खर्च १६.३ प्रतिशत मात्रै

समीक्षा अवधिमा सरकारको आम्दानी मात्रै होइन, खर्च पनि निकै कमजोर देखिएको छ । समीक्षा अवधिमा लक्ष्यको ३२.३५ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च गर्ने लक्ष्य लिएको छ । समीक्षा अवधिमा ५ खर्ब ६६ अर्ब ६२ करोड १३ लाख मात्रै खर्च भएको छ । त्यसमाथि यो सरकारको आम्दानी भन्दा कमजोर हो । 

समीक्षा अवधिमा पुँजीगत खर्च झन् कमजोर छ । समीक्षा अवधिमा १६.३ प्रतिशत अर्थात् ४९ अबै २३ करोड ५८ लाख मात्रै पुँजीगत खर्च भएको छ । सरकारले चालु आवका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत बजेट छुट्टाएको छ । त्यसको खर्च भने कमजोर छ । 

यसै गरी समीक्षा अवधिमा चालु तर्फ ४ खर्ब ३७ अर्ब ३८ करोड १३ खर्च भएको छ । वित्तीय व्यवस्था (ऋण भुक्तानी लगायत) तर्फ ८० अर्ब ४३ लाख खर्च भएको छ ।


प्रतिक्रिया दिनुहोस्