१६ श्रावण २०८३, शनिबार

आजदेखि सरकारी कार्यालय बेलुका ५ बजेसम्म खुल्ने



काठमाडौं । मंगलबारदेखि सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म खुल्ने छन् । सरकारले हरेक साल हिउँदे मौसममा कार्यालय समय एक घण्टा छोट्याउने गरेको छ । कात्तिक १५ देखि माघ १५ सम्म ३ महिनाका लागि सरकारी कार्यालयहरु साँझ ४ बजेसम्ममात्रै सञ्चालन गर्ने व्यवस्था लामो समयदेखि अभ्यासमा छ ।

जाडो याममा दिन छोटो हुने भएकाले कार्यालय समय सकेर उज्यालैमा घर पुग्नुपर्ने बाध्यताका कारण यस प्रकारको व्यवस्था गरिएको हो । पुस पहिलो साता वर्षकै सबैभन्दा छोटो दिन हुने हुन्छ । त्यसपछि विस्तारै दिन लम्बिन थाल्ने र सूर्य उत्तरतिर चढ्न थाल्छ ।

आज मंगलबार काठमाडौंमा साँझ ५ बजेर ४२ मिनेटमा सूर्यास्त हुने छ । यो भनेको असोज २१ कै समय बराबर हो । तर विहान उज्यालो हुने समय भने अहिले निकै ढिला छ । असोज २१ मा विहान ६ नबज्दै सूर्योदय भइसक्थ्यो भने आज विहान ६ः५२ तिरमात्रै सूर्योदय भएको छ । कात्तिक १५ को दिनमान हेर्ने हो भने विहान ६ः१४ मा घाम उदाएर साँझ ५ः२० मा अस्ताएको थियो ।