७ श्रावण २०८३, बिहिबार

कस्तो छ शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको अरुण भ्याली हाइड्रोपावरको वित्तीय अवस्था ?



काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको नाफा आधा घटेको छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीको नाफा करिव ५१ प्रतिशत घटेको हो ।

कम्पनीले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।समिक्षा अवधिमा कम्पनीको खुद नाफा २ करोड ३२ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । यो नाफा गत वर्षको तुलनामा ५०.८८ प्रतिशत कमी हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको गिरावटसँगै नाफा घटेको हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीले १८ करोड २३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने ८२.४४ प्रतिशत घटेर ३ करोड २० लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीले सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनामा बाढीको कारण क्षतिका कारण आम्दानी घटेको हो । कम्पनीको कुल नाफा भने ८७.०१ प्रतिशत घटेर १ करोड ९९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको कुल खर्च १२ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ छ । कम्पनीको अन्य इक्विटीमा भने ८ करोड २६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेर २ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

कम्पनीले यही फागुन १७ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । कम्पनीले १:१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्