७ श्रावण २०८३, बिहिबार

नेपालबाट वर्षेनि अर्बौँ रेमिट्यान्स लैजान्छन् विदेशी कामदार, ७ महिनामै बाहिरियो साढे ४ अर्ब



काठमाडौं । नेपालबाट बाहिरिने रेमिट्यान्स दोहोरो अंकले बढेको छ । ७ महिनामा साढे ४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालबाट बाहिरिएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसमममा कुल ४ अर्ब ४८ करोड २८ लाख रुपैयाँ विदेशी कामदारले लगेका छन् । नेपाल सरकारको वर्क पर्मिट ल्याएर नेपालमा काम गर्न आउने विदेशी कामदारले सो बराबरको रेमिट्यान्स आफ्नो देश पठाएका हुन् ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको छ । गत आवको सोही अवधिको तुलनामा भने नेपालबाट बाहिरिने रेमिट्यान्स ११.६७ प्रतिशत बढेको हो ।

गत आवको माघ मसान्तसम्ममा नेपालबाट ४ अर्ब करोड ४२ लाख रुपैयाँ रेमिट्यान्स बाहिरीएको थियो । अघिल्लो आव २०७८/७९ को सोही अवधिमा पनि ४ अबर्ब ३ करोड ६२ रुपैयाँ रेमिट्यान्स बाहिरीएको थियो ।

नेपालमा काम गर्न आउने विदेशी कामदारले आफुले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् । विदेशी कामदारले आफुले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ । तर, नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्दै आएका विदेशी कामदारले पठाउने रेमिट्यान्स भने यसमा समावेश छैन ।

नेपालमा भारतका थुप्रै कामदार नेपालमा अनौपचारिक रुपमा काम गर्दै आएका छन् । उनीहरुले आफुले कमाएको पैसा नगद नै आफ्नो देश लैजान्छन्, जुन तथ्यांक यसमा समावेश छैन ।

नेपालमा विदेशी लगानीका कम्पनी, आयोजनाहरुमा विदेशी कर्मचारी छन् । बिभिन्न बैंक तथा वित्तिय संस्थामा समेत विदेशी कर्मचारी छन । जलविद्युत आयोजनाहरुमा पनि चिनियाँ, भारतीय कामदारहरु आउने गर्छन् । उनीहरुले यहाँ कमाएर आफ्नो देशमा रेमिट्यान्स पठाउछन्, जसरी विदेश काम गर्न नेपालीले नेपालमा रेमिट्यान्स पठाउछन् ।

सात महिनाको तथ्याङ्क अनुसार नेपालबाट मासिक औसत ६४ करोड रुपैयाँ रेमिट्यान्स बाहिरिने गरेको देखिन्छ । गत पुस मसान्तसम्ममा पनि ४ अर्ब ८ करोड ९८ लाख रेमिट्यान्स विदेशी कामदरहरुले नेपालपबाट लागेका थिए । तर, पुसमा मात्रै भने ३९ करोड ३० लाख बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार गत मंसिरसम्म ३ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ, कात्तिकसम्म ३ अर्ब १५ करोड ७१ लाख, असोजसम्म २ अर्ब ४४ करोड ८० लाख रुपैयाँ रेमिट्यान्स नेपालबाट बाहिरिएको थियो ।

यस्तै, भदौमा १ अर्ब ८१ करोड ८० लाख रुपैयाँ, साउनमा भने ८३ करोड १९ लाख रुपैयाँ रेमिट्यान्स विदेशी कामदार लगेका थिए । गत आव भर विदेशी कामदारले ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ रेमिट्यान्स पठाएका थिए ।

नेपालबाट बाहिरिने भन्दा भित्र्ने रेमिट्यान्स ८३४ अर्ब बढी

समीक्षा अवधिमा नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) २१.६ प्रतिशत बढेको छ । चालु आवको सात महिनामा कुल ८ खर्ब ३८ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । गत आवको माघ मसान्तसम्ममा पनि ६ खर्ब ८५ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । तथ्याङ्क अनुसार नेपालबाट बाहिरिने र भित्रने रेमिट्यान्स ८ खर्ब ३४ अर्ब ५१ करोड रुपैयाँको अन्तर छ ।


प्रतिक्रिया दिनुहोस्