महँगो ब्याजमा आन्तरिक ऋण उठाएर खर्च धान्दै सरकार, ऋणको भारले थिचिँदै नेपाली
काठमाडौं । आठ महिनामा सरकारले सवा २ खर्ब ऋण लिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ ऋण ल्याएको हो ।
सरकारले खर्च धान्नका लागि महँगो ब्याजमा ऋण उठाएको छ । अर्थात् बाह्यको तुलनामा आन्तरिक ऋण नै धेरै उठाएर खर्च धानेको तथ्याङ्कले पुष्टि हुन्छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सात महिनामा १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । तर, बाह्य तर्फ ५५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ रहेको छ । आन्तरिक ऋणको तुलनामा बाह्य ऋण सस्तो पर्छ । बाह्य ऋण परिचालन गर्न नसकेको सरकारलाई ब्याजको भार कम हुन्छ । तर, सरकारलाई बाह्य ऋण उठाउन नसकी आफ्नो खर्च धान्नकै लागि महँगो ब्याजमा आन्तरिक ऋण उठाएको देखिन्छ ।
सरकारले फागुनमा मात्रै १३ अर्ब आन्तरिक ऋण उठाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। फागुनमा बाह्य ऋण भने १ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ मात्रै छ ।
मासिक आँकडा अनुसार सरकारले औसतमा २७ अर्ब ३६ करोड ऋण उठाएको देखिन्छ । फागुनमा मात्रै सरकारले कुल १४ अर्ब ८६ करोड ९७ लाख, माघ २४ अर्ब १० करोड ३६ लाख, पुसमा ३३ अर्ब ९५ करोड २५ लाख रुपैयाँ ऋण उठाएको थियो । यस्तै, गत मंसिरमा २९ अर्ब ९३ करोड ५६ लाख, कात्तिकमा ३ अर्ब २ करोड ९७ लाख, असोजमा ६० अर्ब ५७ करोड २९ लाख, भदौमा ३६ अर्ब ६२ करोड ४१ लाख र साउनमा १५ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ ऋण लिएको थियो ।
आठ महिनामा सरकारले तिर्यो डेढ खर्ब बढी ऋण, साढे ४९ अर्ब ब्याज भुक्तानी
चालु आवको ८ महिनामा सरकारले १ खर्ब ७५ अर्ब ५१ करोड बढी ऋण तिरेको छ । समिक्षा अवधिमा सरकारले १ खर्ब ४६ अर्ब ६४ करोड ७४ लाख रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । सो अवधिमा २८ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बाह्य ऋण तिरेको तथ्याङ्क छ । जसमध्ये आन्तरिक ऋण तर्फ सावाँ १ खर्ब २ अर्ब ९७ करोड १६ लाख र बाह्यक तर्फको सावाँ २३ अर्ब ६ करोड रहेको छ ।
आन्तरिक र बाह्य ऋणको ब्याज मात्रै ८ महिनामा ४९ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेका छ । आन्तरिक ऋणको ब्याज ४३ करोड ६७ करोड र बाह्य ऋणको ५ अर्ब ७९ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको हो ।
कार्यालयका अनुसार फागुनमा मात्रै सरकारले आन्तरिक ऋण तर्फको १६ अर्ब ५३ करोड, माघमा ३६ अर्ब ५५ करोड, पुसमा २३ अर्ब, मंसिरमा ५ अर्ब १७ करोड, कात्तिकमा ८ अर्ब ८३ करोड, असोजमा १४ अर्ब ९४ करोड, भदौमा १५ अर्ब ७६ करोड र साउनमा २५ अर्ब ८४ करोड रुपैयाँ सावाँ तथा ब्याज भुक्तानी गरेको छ ।
यस्तै, बाह्य तर्फ पनि गत साउनमा १ अर्ब ९० करोड, भदौमा ४ अर्ब ३६ करोड, असोजमा ४ अर्ब ८८ करोड, कात्तिकमा ५ अर्ब ११ करोड, मंसिरमा ५ अर्ब २८ करोड, पुसमा १ अर्ब ४६ करोड, माघमा २ अर्ब ११ करोड र गत फागुनमा ३ अर्ब ७३ करोड रुपैयाँ सावाँ तथा ब्याज भुक्तानी गरेको छ ।
झन्डै २४ खर्ब पुग्यो सार्वजनिक ऋण, एक नेपालीको थाप्लोमा ८२ हजार ऋण
हाल नेपालको कुल सार्वजनिक ऋण झन्डै २४ खर्ब पुगेको छ । फागुन मसान्तसम्म आइपुग्दा नेपालको सार्वजनिक ऋणको दायित्व २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
कुल तिर्न बाँकी ऋण रकममा आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख र बाह्य तर्फ १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ रहेको छ। नेपालको सार्वजनिक ऋण महिनापिच्छे बढेको छ ।
गत माघ मसान्तसम्ममा पनि नेपालको तिर्नका बाँकी कुल ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख रुपैयाँ रहेको थियो । विशेषगरि नयाँ ऋण थपिएसँगै कुल ऋणको भार बढेको हो ।
सावाँ भुक्तानी भन्दा थप ऋण लिएपछि मासिक भार बढ्दो नै छ। हाल एक नेपालीको भागमा ८२ हजार रुपैयाँ ऋणको भार छ । राष्ट्रि तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ ।













