डलरको भाउले बनायो नयाँ कीर्तिमानी उचाई, इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ
काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी रेकर्ड कायम गरेको छ । मंगलबार डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा पुगेको छ, जुन हालसम्मकै उच्च हो । सोही दिनका लागि खरिद दर भने १३३ रुपैयाँ २३ पैसा कायम भएको छ ।
पछिल्लो समय डलरको भाउ महँगीरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ भने कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण नै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदा नेपाली मुद्रा समेत कमजोर भएको हो ।
डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा भने नकारात्मक र सकारात्मक दुवै असर पार्ने गर्दछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले डलरमा रेमिट्यान्स पठाउँछन्, जसले डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि बढोत्तरी हुन्छ । यसका साथै पर्यटन क्षेत्रमा पनि डलरको भाउ बढ्दा राम्रै प्रभाव पर्छ । नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले डलर बोकेर आउँछन् र यहाँ खर्च गरेर जान्छन् । यो नेपाली अर्थतन्त्रको लागि सकारात्मक छ ।
तर, डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा नोक्सानी धेरै हुने गर्दछ । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । डलर महँगिँदै जाँदा अझै यस्तो महँगी बढ्न सक्छ । मूलतः पेट्रोलियम पदार्थको मूल्यमा यसले असर पार्छ ।
यसले आयात गर्ने सामग्रीका लागि थप महँगो पार्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य वृद्धि हुने गर्दछ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेकट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ लगायत सामान महँगो पर्नेछन् ।
आज कुन विदेशी मुद्रा साट्दा कति तिर्नुपर्छ ?
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
| USD (U.S. Dollar) | 1 | 133.23 | 133.83 |
| EUR (European Euro) | 1 | 142.02 | 142.66 |
| GBP (UK Pound Sterling) | 1 | 166.42 | 167.17 |
| CHF (Swiss Franc) | 1 | 146.01 | 146.66 |
| AUD (Australian Dollar) | 1 | 86.41 | 86.80 |
| CAD (Canadian Dollar) | 1 | 96.96 | 97.39 |
| SGD (Singapore Dollar) | 1 | 97.93 | 98.37 |
| JPY (Japanese Yen) | 10 | 8.66 | 8.70 |
| CNY (Chinese Yuan) | 1 | 18.41 | 18.49 |
| SAR (Saudi Arabian Riyal) | 1 | 35.52 | 35.68 |
| QAR (Qatari Riyal) | 1 | 36.53 | 36.69 |
| THB (Thai Baht) | 1 | 3.63 | 3.65 |
| AED (UAE Dirham) | 1 | 36.28 | 36.44 |
| MYR (Malaysian Ringgit) | 1 | 27.88 | 28.00 |
| KRW (South Korean Won) | 100 | 9.63 | 9.68 |
| SEK (Swedish Kroner) | 1 | 12.29 | 12.34 |
| DKK (Danish Kroner) | 1 | 19.04 | 19.12 |
| HKD (Hong Kong Dollar) | 1 | 17.02 | 17.09 |
| KWD (Kuwaity Dinar) | 1 | 432.56 | 434.51 |
| BHD (Bahrain Dinar) | 1 | 353.38 | 354.97 |













