७ श्रावण २०८३, बिहिबार

राष्ट्रिय ढुकुटीमा १४ अर्ब ३६ करोड अमेरिकी डलर सञ्चित, एक वर्षको आयात धान्न पुग्ने



काठमाडौं । विदेशी मुद्राको सञ्चिति १९ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष ९महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि चैत मसान्तसम्म आइपुग्दा विदेशी मुद्राको सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन गत असार मसान्तसम्मको तुलनामा भने २४.२ प्रतिशत बढी हो । गत असार मसान्तसम्ममा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ अर्ब रुपैयाँ रहेको थियो । तर, नौं महिनामा भने ३ खर्ब ७२ अर्ब ५० करोड रुपैयाँ बढेको छ ।

विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा भने २२.७ प्रतिशत बढेको छ । गत असार मसान्तसम्म यस्तो सञ्चिति ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको थियो । तर, चैत मसान्तसम्म आइपुग्दा भने राष्ट्रिय ढुकुटीमा २ अर्ब ६५ करोड बढेर १४ अर्ब ३६ करोड डलर संचित छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २५.४ प्रतिशत बढेको छ । गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेको थियो । तर, चैत मसान्तमा बढेर १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १५.५ प्रतिशत बढेको छ । गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा चैत मसान्तमा बढेर २ खर्ब २३ अर्ब ६५ करोड कायम भएको छ । चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्