७ श्रावण २०८३, बिहिबार

नेपालको वैदेशिक व्यापार निरन्तर ओरालो, भन्सार राजश्व भने ११.१३ प्रतिशत बढ्यो



काठमाडौं । आयात र निर्यातमा निरन्तर संकुचन देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा आयात र निर्यात दुवै घटेको छ ।

विभागका अनुसार आयात २.३९ प्रतिशत घटेको छ । गत आवको १० महिनामा नेपालले कुल १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने झन्डै ३२ करोडले घटेको छ । चालु आवको बैशाख मसान्तसम्ममा नेपालले कुल १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको आयात गरेको छ ।

आयातसँगै निर्यातमा पनि गिरावट आएको छ । गत आवको साउनदेखि बैशाखसम्म नेपालले कुल १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको निर्यात गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ३.६१ प्रतिशत घटेको विभागको तथ्याङ्कले देखाउँछ । समिक्षा अवधिमा कुल १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

यसरी आयातभन्दा निर्यात न्यून भएपछि नेपालको वैदेशिक व्यापार घाटामा चुलिँदो नै छ । १० महिनामा नेपालले कुल ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यद्यपि, यो गत आवको तुलनामा भने २.२६ प्रतिशत कम हो । गत आवको १० महिनामा नेपालले अन्तर्राष्ट्रिय व्यापरमा १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

चालु आवको १० महिनामा नेपालले कुल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ।

आयात घट्दा पनि दोहोरो अंकले बढ्यो राजश्व

आयात घट्दा पनि सरकारले प्राप्त गर्ने भन्सार राजश्व भने दोहोरो अंकले बढेको छ । गत वर्षको तुलनामा भन्सार राजश्व ११.१३ प्रतिशत बढेको हो । चालु आवमा गरिएको कुल आयातबाट सरकारले ३ खर्ब ४२ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ३४ अर्ब ३३ करोड १२ लाख रुपैयाँ बढी हो । गत आवको १० महिनामा ३ खर्ब ८ अर्ब ४४ करोड ३० लाख रुपैयाँ राजश्व उठेको थियो ।

केही समयअघिसम्म आयात बढ्दा पनि राजश्व भने निकै दबाबमा थियो । तर, केही महिना यता भने आयत घट्दा पनि राजश्व बढी रहेको छ । विभागका अनुसार आन्तरिक नियन्त्रण प्रणालीमा गरिएको सुधारले नै राजश्व बढेको हो ।

प्रशासनिक र भन्सार मूल्याङ्कनमा सुधार आएकाले पनि राजश्व बढेको विभागले जनाएको छ । विभागका अनुसार राजस्व चुहावटमा लिएको शून्य सहनशीलता तथा नीतिगत परिवर्तनले पनि राजश्व बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्